सिद्धार्थनगर–५ का नागरिकलाई वडाको सम्मान
भैरहवा– सिद्धार्थनगर नगरपालिकाका जेष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई सम्मान गरिएको छ । नगरपालिकाको वडा नम्बरको ५ को आयोजनामा सोही वडाको जेष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई सम्मान गरिएको हो । मंगलबार आयोजित सम्मान कार्यक्रममा ९६ जना जेष्ठ नागरिक, २१ जना एकल महिला र ४ जना अपाङ्ग गरी कुल एक सय एक्काइस जनालाई सम्मान गरिएको सिद्धार्थनगर नगरपालिकाका– ५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले जानकारी दिए । उनले लक्षित समूहलाई हसौला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए ।
उनीहरुलाई सल ओढाएर, दिर्घ जीवनको कामना गरेको उल्लेखित प्रमाणपत्र र हर्लिक्स, बिस्कुट सहित एक झोलामा साम्रगी दिएर सम्मान गरिएको थियो । वडा कार्यालयले गरेको सम्मानले आफुहरु हर्षित भएको उनीहरुले बताए । निर्वाचनको बेला मात्रै नभई निर्वाचन पश्चात पनि जनप्रतिनिधी र वडा कार्यालयले आफुहरुलाई सम्झिएकोमा खुशी व्यक्त गरे ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले उमेरले मात्रै युवा नहुने भन्दै युवा हुनका लागि क्षमता र सोच आवश्यक रहेको बताए । उनले वडा कार्यालयले आयोजना गरेको धेरै राम्रो रहेको भन्दै सम्मान कार्यक्रममा महिला सहभागिता उल्लेख्य रहेकोमा खुशी व्यक्त गरे । यस किसिमका कार्यक्रमहरु प्रत्येक वर्ष निरन्तर हुनुपर्ने उनले जनाए ।
उनले आफूहरुले नगरको विकासका लागि छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण, फोहोरमैला व्यवस्थापन, विजुली लगायतका कामहरु छिट्टै हुने बताए । ‘मैले काम गर्न सुरुवात गरेको छु, यसमा नगरवासीहरुको पनि साथ आवश्यक छ’, उनले भने, ‘नगरवासीले साथ दिनुभयो भने मुलुकमै हाम्रो नगरपालिका नमुना बन्नेछ ।’
वडा नम्बर १३ का वडाध्यक्ष एवं तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ्गले आफ्नै आमा वुवा सरह जेष्ठ लगायत नागरिकहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । नेपाली काँग्रेस प्रदेश (क) सभापति सुरेन्द्रजंग थापाले वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई सम्मान गरेर सराहनीय कार्य गरेको बताए । उनले वडा कार्यालयलाई यस्ता कार्यक्रम निरन्तर गर्न सुझाव दिए ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ्गले वडा कार्यालयले निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै अगामी आवमा पनि उत्प्रेरणात्मक, रचनात्मक कार्यक्रमहरु गर्नुपर्ने बताए । काँग्रेस सिद्धार्थनगर सभापति कोशिश खड्काले यस किसिमको कार्यक्रमले हौसला प्रदान गर्ने बताउँदै अन्य वडा कार्यालयहरुले पनि लक्षित वर्गहरुका लागि कार्यक्रम गर्नुपर्ने बताए ।
‘यस किसिमका कार्यक्रमले जेष्ठ लगायत नागरिकहरुको अनुहारमा खुशी छाउँछ’, उनले भने, ‘प्रेरणा प्रदान गर्ने भएकोले यस किसिमकाहरु निरन्तर हुनुपर्छ ।’ उनले जेष्ठ नागरिक लगायतले दुःख–सुख साट्न, आराम गर्नका लागि भवन आवश्यक रहेकाले भवन निर्माणका लागि आग्रह गरे । त्यस्तै उनले लक्षित वर्गहरुका लागि एम्बुलेन्स समेत व्यवस्था गर्न माग गरे ।
वडा नम्बर ५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले आफूहरु जनताको सेवाका लागि निर्वाचित भएकोले वडामा सबै जनमुखी कामहरु हुने बताए । उनले बाल मन्दिर क्षेत्रको विकासका लागि बजेट विनियोजन भएको भन्दै जेष्ठ नागरिक, बाल कक्षाका लागि प्रक्रिया अघि बढाइने बताए । त्यस्तै, उनले सडक पेटी पैदलयात्रुहरुका लागि निर्माण गरिएकोले सडक पेटीमा पसलका सामान नराख्नका लागि आग्रह गरे ।
उनले वडा कार्यालयबाट एकद्वार प्रणालीबाट सेवा प्रदान भइरहेको भन्दै सेवाग्राहीलाई कुनै सेवाबाट पनि बञ्चित नगरिने बताए । वडाको विकासका लागि वडा कार्यालयमा आएर छलफल, सल्लाह सुझाव दिनका लागि उनले वडावासीसँग अपिल गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा नम्बर ५ का सदस्य विनितकुमार वेरिवालको संयोजन र दीपेन्द्रमान श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तव, ७ का वडाअध्यक्ष दामोदार शर्मा घिमिरे, काँग्रेस प्रदेश (क) सचिव सुधा कुँवर, काँग्रेस तरुण दलको नगर अध्यक्ष दिपेन्द्र बुढाथोकी, नेपाली काँग्रेसका नेता ओमकुमार श्रेष्ठ, नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव अनिल कुमार केसी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, समाजसेवी नारायणप्रसाद अग्रवाह, ओमकार गौचन, सिद्धार्थ जेसिजको अध्यक्ष कमल जिसी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्