December 5, 2024, Thursday
२०८१ मंसिर २०

कपिलवस्तु सांस्कृतिक नगरपालिका बन्दै

भैरहवा– कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । बौद्ध सम्पदा र संस्कृति रहेकाले १२ औं नगरसभाको दोस्रो बैठकले सांस्कृतिक नगरपालिका बनाउने निर्णय गरेको हो । नगर प्रमुख सुदीप पौडेलले गौतम बुद्ध कपिलवस्तुमा हुर्केकाले त्यसलाई संस्थागत रूपमा पालिकाको नाममै बुद्धको पहिचान स्थापित गर्न यस्तो निर्णय गरिएको बताए ।

कपिलवस्तु नगरपालिकाले नाम परिवर्तनका लागि संघीय मामिला मन्त्रालयमा लेखी पठाएको जानकारी दिएको छ । उक्त अनुरोध मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पुग्नेछ । त्यहाँबाट निर्णय भएर आएपछि नाम परिवर्तन हुने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

Advertisement

‘यो पहिलो नगरसभाबाटै गर्नु पथ्र्यो,’ उनले भने, ‘पछि भए पनि उपयुक्त र राम्रो निर्णय भएको छ ।’ सांस्कृतिक शब्द थप्दा नगरपालिकाको महत्व बढ्ने र सरकारले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । नेपालमा रहेका ३ अशोक स्तम्भमध्ये दुईवटा यही छ ।

राजा शुद्धोदनको राजप्रसाद तिलौराकोट, कनकमुनि बुद्धको सहर अरौराकोट, शाक्य बधस्थल सगरहवा, बुद्ध १५ वर्ष वर्षावास बसेको निग्रोधाराम र धमनिहवा स्तुप यही छन् । बुद्धसँग सम्बन्धित ८० बढी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्वका स्थल यहाँ रहेका छन् ।