September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

दुई दशकपछि कर्णालीमा घडियाल बच्चा

भैरहवा– बर्दिया निकुञ्जमा दूर्लभ घडियालले दुई दशकपछि प्राकृतिक बासस्थानमा बच्चा जन्माएको छ । निकुञ्ज कर्मचारीका अनुसार कर्णाली नदीको साखा खौराहा तटमा बच्चा जन्माएको पाइएको हो । कर्मचारीले यसपटक २८ वटा बच्चा देखेको जानकारी दिए ।

Advertisement

संरक्षणकर्मीका अनुसार एक साता अघि कर्मचारीले पहिलो पटक घडियालको प्रजनन् स्थल फेला पारेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठले नियमित अनुगमनका क्रममा बच्चा फेला परेको जानकारी दिए । यसअघि खौराहामा पानीको बहाव कम भएको थियो । जसले गर्दा यहाँका जीव संकटमा परेका थिए ।

Advertisement

दुई वर्षदेखि निकुञ्जको लालमाटी क्षेत्रमा गएर गेरुवा तर्फ पानी फर्काइएपछि सुखद् खबर प्राप्त भएको उनले बताए । पानीको बहाव कम र बाढी नआएपछि प्रजनन्कालागि उपयुक्त भएको निकुञ्जका पूर्व वार्डेन रमेश थापाले बताए । ‘०७२ पछि कर्णालीको गेरुवातर्फको भंगालोमा पानी निकास व्यवस्थित बनायौं,’ उनले भने्, ‘त्यसपछि ताल पोखरीमा लुकेका घडियालले गुँड लगाए ।’

अहिले खौराहा खोला घडियालमैंत्री बनेको उनले बताए । निकुञ्जका अनुसार केही समय अघि बबई नदीको स्रोत खोला पोस्ट नजिक धनुसेमा पनि घडियालले ३० वटा बच्चा जन्माएकोछ । त्यस्तै निकुञ्जमा रहेको घडीयाल प्रजनन् केन्द्रमा यस वर्ष ५० वटा बच्चा जन्माएकोछ । ७ वर्ष पछि प्रजनन् केन्द्रमा धेरै बच्चा जन्माएको पहिलो हो । प्राकृतिक बासस्थलमा घडियाल जोगिन निकै गाह्रो छ ।

कृत्रिम बासस्थानमा पनि भाले नलाग्दा र प्राविधिक कुरा नमिल्दा गोही सफल प्रजनन् चुनौती छ । नेपालमा सन् १९७८ देखि यस प्रजातिको संरक्षण र प्रजनन् कार्यक्रम संचालन गरिदै आएको छ । मुुलुकभर ८० भन्दा कम घडियाल भएकाले संरक्षण गर्न ०३५ मा चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक घडीयाल गोही संरक्षण तथा प्रजनन् केन्द्र स्थापना गरिएको थियो ।

प्राकृतिक बासस्थलमा गोहीले गुँड लगाएर पारेको अन्डा संकलन गरेर केन्द्रमा ल्याइन्थ्यो । ०४० मा उद्धार केन्द्रको रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा गोही राख्न थालियो । त्यही वर्ष बबई नदीबाट २५ वटा गोहीको अण्डा लगेर राखियो । सन् २०१० मा चितवनबाट १० घडियाल लगेर छाडियो ।