तिलोत्तमाकी अमृताको ७३ दिनपछि दाहसंस्कार
भैरहवा– हत्याको दाबीसहित न्याय माग गर्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगरकी अमृता खत्री टण्डन माइती पक्षले शुक्रबार शव बुझेर अन्तिम संस्कार गरेका छन् । न्यायको माग गर्दै बुझन नमानेपछि अमृताको शव लामो समय लुम्बिनी प्रादेशिक अस्पतालमा थियो ।
शव अस्पतालमा राखेको ७३ दिनपछि माइतीले शुक्रबार बिहान तिलोत्तमाको मगरघाटमा अन्तिम संस्कार गरिएको अमृताका दाजु पुष्पक खत्रीले बताए । शवको भिसेरा रिर्पोट सार्वजनिक गर्नु पर्ने माग राखेर आफन्तले प्रत्येक दिन न्यायका लागि दबाब साँझ बुटवल–भैरहवा सडक खण्डको जानकीनगरमा मैनवत्ती बाल्दै आएका थिए ।
मृतकका दाजु पुष्पकका अनुसार सार्वजनिक रिर्पोटमा विष सेवनले भित्री अंगमा असर गरेर मृत्यु भएको देखिएको छ । यसअघि माइती पक्षले हत्या भएको दाबी गरेर दिएको किटानी जाहेरीका आधारमा अमृताका श्रीमानलाई पुर्पक्षका लागि थुनामा राखेर अनसन्धान भइरहेको छ । घटना लगत्तै पक्राउ परेका सासु–ससुरा २–२ लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् ।
अमृताका दाजु पुष्पकले भान्जाको लालनपालन तथा शिक्षाको सबै खर्च परिवारले बेहोर्ने र बहिनीको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमतिपछि दाहसंस्कार गरिएको जानकारी दिए । ‘करिब साढे दुइ महिना शव अस्पतालमा राखियो’, उनले भने, ‘लामो समय रिपोर्ट पर्खियौं । रिर्पोटमा हत्या पुष्टि भएन ।’
प्रतिकृया दिनुहोस्