जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै निर्वाचित
भैरहवा– जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन् । शुक्रबार भैरहवामा सम्पन्न निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका चपाईले २० मत ल्याई प्रमुखमा विजयी भएका हुन् ।
प्रमुखका प्रत्यासी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । जिसस उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामकृपाल धोबीले १६ मत ल्याइ विजयी भए । एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याइन् । उपप्रमुखमा एक मत भने बदर भएको छ ।
यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्यालले १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।
यस्तै, नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समिति निर्वाचनमा काँग्रेस, माओवादी, लोसपा र जनता प्रगतिशील पार्टीबीच गठबन्धन भएको थियो । सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
१६ स्थानीय तह रहेको रुपन्देहीमा ३२ मत रहेको थियो । समन्वय समिति निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदान गर्न पाउँछन् । अध्यक्षमा निर्वाचित चपाईले रुपन्देहीमा अत्यधिक नदी दोहन रहेको जनाउँदै यसलाई आफ्नो कार्यकालमा रोक्ने बताए ।
प्रतिकृया दिनुहोस्