December 5, 2024, Thursday
२०८१ मंसिर २०

हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्छ : थापा

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजतन्त्र पुनस्र्थापनाको ऐजण्डा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले छाडेमा पार्टी एकता हुने बताएका छन् । राजतन्त्र पुनस्र्थापना असम्भव रहेको भन्दै थापाले लिङ्देन नेतृत्वको पार्टीले एजेन्डा छाडे पार्टी एकता गरेर आफूले नेतृत्व समेत हस्तान्तरण गर्ने जनाए ।

बिहीबार रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘हामीले असम्भव एजेन्डाको पछि लाग्न हुँदैन, सही एजेन्डा बोक्नुपर्ने हुन्छ । त्यसैले राजतन्त्रको एजेन्डा राप्रपाले छाड्नुपर्छ ।’ उनले आफूले पार्टी पुनर्जागरण गरेको र असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकाले राजतन्त्र पुनस्र्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेको प्रष्ट्याए ।

Advertisement

थापाले हिन्दु राज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिए । ‘बहुमत जनता अहिले पनि हिन्दु राज्यको पक्षमा छन्’, उनले भने, ‘त्यसैले यो विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने मेरो माग हो ।’ वर्तमान संविधान संशोधन गरेर सहमतीबाट सनातन हिन्दुराष्ट्र बनाउनुपर्ने अन्यथा जनमत ग्रहबाट यो विषय टुंग्याउनुपर्ने उनको भनाई छ । संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने राप्रपा नेपालको एजेण्डा रहेको उनले जनाए ।

आफूले पार्टी छाड्नुको कारण बारे बेलिविस्तार लगाउंँदै थापाले पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप भएपछि अलग भएको दावी गरे । साथै थापाले देशमा अब धार्मिक द्वन्द्व समेत निम्तन सक्ने खतरा औल्याए । ‘धर्म परिवर्तन देशमा डढेलोसरी फैलिएको छ’, उनले भने, ‘अन्य राजनीतिक दलहरूले यसतर्फ ध्यान नदिए देशमा हिन्दु, मुस्लिम, किराँत जस्ता धर्म लोपउन्मुख हुने अवस्थामा पुग्नेछन् ।’

प्रमुख दलहरुले भोटको राजनीति गर्ने भएकाले यस विषयलाई प्राथमिकतामा नपारे पनि अन्ततः देशमा धार्मिक द्वन्द्व हुने उनले बताए । अधिकांश समय आफ्नो पार्टी फुट्नका कारणबारे बताएर समय खर्चिएका थापाले सरकारको गलत नीति र अकर्मण्यताका कारण देशमा तिब्र गतिले महंगी बढेको जनाए । पेट्रोलियम पद्धार्थ, ग्यांसमा सरकारले विभिन्न अनावश्यक कर लगाउँदा अत्याधिक मुल्यबृद्धि भएको भन्दै सरकारले पेट्रोलिय पद्धार्थ र ग्यांसमा लगाउँदै आएको कर घटाएर जनतालाई राहत दिनुपर्नेमा उनको जोड थियो ।