पौडी खेल्ने क्रममा डुवेर दुई युवाको मृत्यु


बाँके– पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई युवाको मृत्यु भएको छ ।
बाँकेको राप्ती नदीमा घरबेटीको मृत्युपछि बुधबार दाहसंस्कारका लागि ती युवा गएका थिए । तर पौडी खेल्दा उनीहरु डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१, धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल छन् । उनीहरु बिहीबर बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
उनकाअनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशङ्का थियो । बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो ।
हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।








प्रतिकृया दिनुहोस्