December 12, 2024, Thursday
२०८१ मंसिर २७

बस दुर्घटनाः मृतकमध्ये आठ जनाको पहिचान खुल्यो [अपडेट]

भैरहवा– रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । जनपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी पुलटबाट आइतबार बिहान ४ः२० मा रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३२ जनामध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य घाइते छन् । मृतक मध्ये ८ जनाको मात्रै पहिचान खुुलेको छ । एक जनाको पहिचान हुन नसकेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२, योगीकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, रौतहटको चन्द्रनिगाहपुरका २० वर्षीया दिनेश दास छन् ।

यसैगरी, जनकपुर र बुटवल उपमहानगरपालिका–६ टाइटन टोल बस्ने ४० वर्षीया अरबिन्द शर्मा, अरविन्द्रका बुवा ५६ वर्षीया नन्देश्वर शर्मा र सितामणि भारतका ४५ वर्षीया संजय गुप्ताको पनि मृत्यु भएको छ । मृत्यु भएका एकजना पुरुषको सनाखत हुन बाँकी छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।