नेपालगञ्ज पाँच वडामा पुरानै अनुहार, दश जना पराजित


नेपालगञ्ज – स्थानीय तह निर्वाचन– २०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यतिबेला देशका अधिकांश स्थानीय तहको नतिजा आइसकेको छ।
यसपालिको निर्वाचनमार्फत जनप्रतिनिधीको रुपमा कतिपय नयाँ अनुहार आएका छन् भने कतिपय पुरानै अनुहार दोहोरिएका छन्।
एक कार्यकाल काम गरिसकेका उम्मेदवार पुनः दोहोरिनको लागि सो कार्यकालमा उसले गरेको कामले पनि विशेष भूमिका खेल्दछ।
जनभावना र आवश्यकता अनुसारको काम गर्न नसकेका उम्मेदवारहरु पुनः दोहोरिने मौका शुन्य जस्तै नै हुन्छ। तर कतिपय विभिन्न राजनीतिक कारणले गर्दा दोहोरिने पनि हुन सक्छ।
यस्तैमाको प्रमुख उदाहरणको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई नै लिन सकिन्छ।
यस नगरमा १५ जना निवर्तमान वडाध्यक्षले फेरि चुनाव लडे। तीमध्येमा पाँच जना दोहोरिएका छन्। दश जना पराजित भएका छन्।
कुल २३ वटा वडा भएको नेपालगञ्जमा आठ जना वडाध्यक्षले फेरि चुनाव लडेनन्। चुनाव लडेकामध्ये पाँच जनामात्रै विजयी भए भने दश जना असफल भए।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ मा हेरौँ। वडाध्यक्ष प्रमोद रिजाल दोहोरिए। २०७४ सालको चुनावमा निकटतम प्रतिस्पर्धीलाई ३ सय १ मतले पराजित गरेका रिजालले यसपटक ५४ मत अन्तरले जिते।
यो वडामा २०७४ सालमा एमालेले रिजालसहित तीन जना वडा सदस्य जितेको थियो। यसपटक वडाध्यक्षमात्रै जितेको । चार जना सदस्य कांग्रेसले जितेको छ।
यसपटक कांग्रेसबाट साख्खै दाई विनोद रिजाल चुनाव लडेकाले प्रमोदको मत कटेको आकलन गरिएको छ।
वडा नं. ३ का अयुव सिद्धिक पनि दोहोरिएका छन्। माओवादी केन्द्रका अयुवले यसपटक ठूलो चुनौतीका बीचमा चुनाव जिते। सिद्धिकीले पनि प्यानल नै जित्न सकेनन्।
वडा नं. ६ का समीरप्रताप सिंह, १८ का दिपक बर्मा र १९ नम्बरका परशुराम कुर्मी दोहोरिएर वडाध्यक्ष भएका छन्। समीर र दीपक एमाले र परशुरामले कांग्रेसबाट वडाध्यक्ष जितेका हुन्।
दश जना निवर्तमान वडाध्यक्ष पराजित भए। वडा नं। ५, ८, ११, १२, १४, १५, २०, २१, २२ र २३ नम्बरका निवर्तमान वडाध्यक्ष दोहोरिन सकेनन्। आठ वटा वडाका वडाध्यक्षले पुनः चुनाव लडेनन्।
चुनावी सरगर्मी अर्थात टिकट बाँडफाँडको समयमा नेपालगञ्जमा दोहोरिन नचाहने वडाध्यक्ष १३ नम्बरका वीरेन्द्र शाहमात्रै थिए। शाहले शुरुदेखि नै म फेरि वडाध्यक्ष लड्दिन भनिरहेका थिए। शाहबाहेक सबै वडाध्यक्ष दोहोरिन चाहन्थे।
निवर्तमान वडाध्यक्षलाई कति पार्टीले फेरि टिकट दिए त कतिले दिएनन्। दोस्रो पटक टिकट पाएका पाँच जना भने भाग्यमानी ठहरिएका छन्। उनीहरुलाई फेरि जनताले पत्याएका छन्।








प्रतिकृया दिनुहोस्