December 12, 2024, Thursday
२०८१ मंसिर २७

तुलसीपुरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

दाङ- सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच दाङको तुलसीपुर उपमहानगरपालिकामा कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् । हालसम्म २५ हजार ६८३ मत गणना हुँदा एमालेका खड्काले १० हजार ६०५ मत र नेपाली कांग्रेसका गिरीले १० हजार ५३४ मत ल्याएका छन् ।

Advertisement

एमालेका खड्का कांग्रेसका गिरीभन्दा ७१ मतले अघि छन् । यसअघि कांग्रेसका गिरी अगाडि थिए । उपप्रमुखमा भने एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छिन् । उनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतान्तर बढाउँदै गएकी छन् ।

चौधरीले ९ हजार ९१७ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ९९ मत ल्याएका छन् । चौधरी रानाभन्दा एक हजार १ हजार ८१८ मतले अगाडि छिन् ।