May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

हामीले निर्वाचन जितिसक्यौंः एमाले सिद्धार्थनगर

भैरहवा- नेकपा एमालेका नेताहरुले सिद्धार्थनगरमा आफूहरुले निर्वाचन जितिसकेको दावी गरेका छन् । उनीहरुले घरदैलोका क्रममा नगरबासीबाट पाएको माया, सद्भाव, विगतमा पार्टीले गरेको काम, नीति र नगरमा आफूहरुले अघि सारेका एजेण्डाका कारण निर्वाचन जितिसकेको दावी गरेका हुन् ।

Advertisement

सोमबार भैरहवामा एमाले सिद्धार्थनगर निर्वाचिन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरुले उक्त दावी गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले पाँच वर्षको अन्तरालमा सिद्धार्थनगरमा विकास निर्माणले तीव्र गति लिएको जनाए । उनले एडीबीको योजना समयमै सक्न, सुशासन कायम गर्न र अन्य भौतिक तथा शिक्षा, स्वास्थ्यका क्षेत्रमा नगरमा उल्लेख्य काम भएको दावी गरे ।

भुसालले फोहोरमैला व्यवस्थापनमा अन्य पार्टीले राजनीति गर्दा काम हुन नसके पनि अन्य काम भने धेरै भएको जनाए । उनले यस क्षेत्रको विकासका लागि नगरका जनप्रतिनिधिसँगै आफू लागिपरेको जनाउँदै त्यसका लागि फेरि पनि सिद्धार्थनगरमा एमालेले जित्नु पर्ने बताए । एमालेले सिद्धार्थनगरमा निर्वाचन जितिसकेको दावी गर्दै भुसालले निर्वाचन आचारसंहिताका कारण एक्जिट पोल नराखिएको भन्दै मतदानको भोलिपल्ट यति मतले जित्छौं भनेर भन्ने जनाए ।

विकास, निर्माण, समाजवादका कुरा एमालेले गर्ने र एमालेलाई नै यस्ता प्रश्न आउने जनाउँदै उनले जसले काम गर्छ, उसलाई नै प्रश्न गरिने बताए । पत्रकार सम्मेलनमा बोल्दै मेयर पदका उम्मेदवार डा.रामप्रसाद बस्यालले हरेक दृष्टिकोणबाट आफूहरु विजयी भइसकेको दावी गरे । उनले आफूहरुका एजेण्डा राम्रो भएको, संगठन र विगतमा एमाले नेतृत्वले राष्ट्रियताका विषयमा उठाएका एजेण्डा नै जितका आधार भएको बताए ।

उनले एमालेले जिते कर बृद्धि नगर्ने तर करको दायरा बढाउने जनाए । बस्यालले नगरको फोहोर व्यवस्थापनमा अन्य पार्टीको अवरोधका कारण काम हुन नसकेको आरोप लगाए । उपमेयर उम्मेदवार उमा अधिकारीले पार्टी संगठन, विगतको काम, सही र राम्रो एजेण्डाका कारण एमालेले नगरका सबै पदमा जित हासिल गर्ने दावी गरिन् ।
कार्यक्रममा बोल्दै एमाले सिद्धार्थनगर कमिटी अध्यक्ष चक्रबहादुर थापा, नेता चोपलाल आचार्य र नगर कमिटी सचिव नारायणप्रसाद भण्डारीले फेरि पनि सिद्धार्थनगरमा एमालेको झण्डा फहराउने दावी गरे । उनीहरुले निर्वाचन जितिसकेको जनाउँदै घोषणा हुन प्रक्रिया मात्रै पूरा गर्न बाँकी रहेको जिकिर गरे ।