December 12, 2024, Thursday
२०८१ मंसिर २७

उद्योगी–व्यवसायीको संरक्षण एकीकृत समाजवादीले गर्छ : पुन

भैरहवा– नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनले उद्योगी–व्यवसायीको संरक्षण गर्न आफ्नो जित अपरिहार्य भएको बताएका छन् । बिहीबार सिद्धार्थनगर–७ को घरदैलोका क्रममा उनले भने, ‘व्यवसायी सुरक्षित नहुँदासम्म मुलुकको अर्थतन्त्र बलियो हुँदैन । त्यसका लागि एक मात्र पार्टी एकीकृत समाजवादी हो र उसको जित आवश्यक हुन्छ ।’

पुनले व्यवसायीलाई चौबीसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउनुपर्ने, अनावश्यक करको भार थोपार्न नहुने र लगानीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए । ‘तीन–चारथरि कर लगाउने तर सुरक्षा नदिने’, उनले भने, ‘यस्तो अवस्थामा निजी क्षेत्र कसरी बलियो हुन्छ ।’ व्यवसायी र उनीहरुको व्यवसाय फस्ट्याए मात्रै मुलुक बलियो हुने उनको भनाई छ ।

Advertisement

‘राम्रोसँग उद्योग–व्यवसाय चल्यो भने कुनै निकायले तिमिहरुले कर तिर भन्नै पर्दैन’, उनले भने, ‘व्यवसायीले आफै दायित्व सम्झेर कर तिर्छन् । यसका लागि सरकारले वातावरण बनाउनुपर्छ ।’ उनले आफू निर्वाचित भएमा नगर भित्रका व्यवसायीको संरक्षण गर्ने, छुट सुविधाहरु दिने, करको दर नबढाई दायरा बढाउने जनाए ।

उनले उद्योग–व्यवसाय रहेको ठाउँमा विद्युत, सहज सडक मार्ग, दक्ष मजदुर उपलब्ध गराउन आफूले पहल गर्ने जनाए । सबै पूर्वाधार उपलब्ध गराएर नगर क्षेत्रको व्यवसाय विस्तारमा टेवा पुर्याउने आफ्नो उद्देश्य रहेको उनले प्रस्ट्याए । उद्योगीलाई चाहिने दक्ष कामदारका लागि सीपमूलक तालिमहरु संचालन गर्ने र उनीहरुलाई रोजगार दिने आफ्नो योजना रहेको पुनले बताए ।

‘नगरभित्र रहेका युवाहरुलाई तालिम दिएर दक्ष बनाएर उद्योगहरुमा रोजगारी दिइने छ’, उनले भने, ‘यसका लागि हामीले नीति बनाएर काम गर्नेछौं ।’ उद्योगले दक्ष कामदार नपाउने तर युवाहरु व्यरोजगार बस्नुपर्ने बाध्यता हटाउन भूमिका खेल्ने उनको भनाई छ ।