May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

घरदैलोले उत्साहित छौं : एमाले उम्मेदवार

भैरहवा– नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले घरदैलोका क्रममा आफूहरुमा थप उत्साह आएको बताएका छन् । बिहीबार सिद्धार्थनगर–६ का विभिन्न स्थानमा घरदैलो गर्दै एमाले उम्मेदवारले जनताको भरोसा एमालेमै रहेको प्रतिक्रिया पाउँदा आफूहरुमा थप उत्साह देखिएको जनाएका हुन् ।

Advertisement

मेयरका उम्मेदवार डा.रामप्रसाद बश्यालले आमनागरिकबाट माया र सद्भाव पाएको बताए । उनले भने, ‘हामी घरदैलोका क्रममा जहाँ जान्छौं, त्यहाँ धेरै माया पाएका छौं, मतादाता एमालेलाई मत दिन आतुर हुनुहुन्छ ।’ उपमेयर उम्मेदवार उमा अधिकारीले नगर विकास एमालेले नेतृत्व पाए मात्रै हुने मतदाताबाट प्रतिक्रिया पाएको जनाइन् ।

उनले यसअघि एमाले नेतृत्वको सरकारले गरेको कामले गर्दा नगरबासीले एमालेकै नेतृत्व खोजेको बताइन् । मेयर उम्मेदवार बस्यालले निर्वाचित भएमा आगामी ५ वर्ष भित्रमा हाल थालिएका सबै कामलाई निरन्तरता दिँदै यनगरलाई अझ स्वच्छ, सफा हरियालीयुक्त सुन्दर ब्यापारीक र पर्यटकीय नगरी बनाउने मतदातासंग प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि अगाडि सारेका २६ बुँदे प्रतिबद्धताहरुलाई पुरा गर्ने दृढ लक्ष्य र उद्देश्यका साथ जनताको बीचमा आएका कारण अत्यधिक मत दिई विजयी बनाउन उपमेयरकी उम्मेदवार अधिकारीले आग्रह गरिन् । वडाध्यक्षका उम्मेदवार रामदयाल गुप्ताले यसअघिको नेतृत्वको कारण वडाको विकास हुन नसकेको जनाए । उनले वडालाई विकसित बनाउन एमालेको जित आवश्यक रहेको जनाए ।