May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

सेमराबजारमा पनि १५ शय्याको अस्पताल बनाउने एमालेको प्रतिबद्धता

तिलोत्तमा– नेकपा एमालेलेतिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने भएको छ । स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो ।

Advertisement

जमिनको स्वामित्व प्राप्त नहुँदा अस्पताल निर्माणमा अलमल भैरहँदा अहिलेका जनप्रतिनिधिहरुको पहलमा स्वास्थ्य चौकीको नाममा १६ कठ्ठा ५ धुर जग्गाको लालपूर्जा २०७८ जेठ २७ गते प्राप्त भएको थियो । मन्त्रिपरिषद्को २०७७ चैत ३० को बैठकले सरकारको नाममा रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

अघिल्लो संघीय सरकारले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने नीतिगतनिर्णय गरेकोमा तिलोत्तमा नगरपालिकाले त्यसको कार्यान्वयनको लागि २०७८ साउन १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट निकासाका लागि पत्राचार गरेको थियो । डिपिआरअनुसार १५ शैंयाको अस्पताल निर्माणको लागि १४ करोड ४७ लाख बजेट लागत अनुमान गरिएको छ । तर, केपी ओली नेतृत्वको संघीय सरकार बिघटन भएसँगै अस्पताल निर्माणको प्रक्रिया अघि बढ्न नसकेको छैन । यहीँसन्दर्भमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धतामा जोड दिएको हो ।

एमालेको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरी चौधरीले सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकता दिएको बताइन् । संघीय सरकार परिवर्तनसँगै स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने काममा आलटाल भएको बताउँदै उनले नगरमा हाल दुई ठाउँमा अस्पताल निर्माणको क्रममा रहे पनि सेमरामा नयाँ अस्पताल बन्ने स्पष्ट पारिन् ।

तिलोत्तमा नगरपालिकामा हाल १५ शैंयाँका दुई अस्पताल निर्माणको क्रममा छन् । वडा नं. ६ को आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैंयाँको अस्पतालमा स्तरोन्नती गर्न ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ । यस्तै वडा नं. १७ मा रहेको बीपी ग्राममा समेत १५ शैंयाको अस्पताल निर्माण गर्न ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ ।

सेमरबजार स्वास्थ्य चौकीमा हाल रोटरी क्लवसँगको सहकार्यमा प्रसुति सेवा केन्द्र समेत सञ्चालनमा रहेको भने बर्थिङ्ग सेन्टर र एम्बुलेसन्स सेवा पनि रहेको छ । जनप्रतिनिधि आएसँगै तिलोत्तमाका सबै वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । आधारभूत स्वास्थ्य सेवा वडाबाटैं प्राप्त हुने र अस्पताल सेवाको लागि नगरमा तीन वटा अस्पताल बनाउने गरी तिलोत्तमामा काम अघि बढेको हो ।

एमालेले आफ्नो प्रतिबद्धता पत्रमा स्वास्थ्य बीमालाई सबै नागरिकको पहुँचमा पुर्याउने, प्रदेशिक मेडिकल कलेजको निर्माण एवं सञ्चालनका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गरिने, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रलार्ई सुविधायुक्त बनाइतिनको स्तर वृद्धि गरिने उल्लेख गरेको छ । आवश्यकतानुसार जनतालाई सहज र सुपथ मूल्यमा औषधी उपलब्ध गराउने पसलहरूको सञ्चालन नगरपालिका आफैले गर्ने कार्यका लागि पहल गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यस्तै सुत्केरी, जेष्ठ नागरिक घुम्ती सेवा, नवजात शिशु स्वास्थ्यमा विशेष ध्यान दिइने, पोषण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने, बालबालिकाका लागि खोप सेवा र गर्भवती तथा सुत्केरी महिलालाई पोषणसहितको सुविधा उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाउने पनि एमालेको प्रतिबद्धता छ । प्रत्येक वार्डमा दक्ष नर्ससहितको चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराइने, वडा नं. ६ को गोरकठ्ठामा र वडा नं. १७ स्थित बीपी ग्राममा निर्माणाधीन १५ शैंयाको अस्पतालको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने पनि एमालेको प्रतिबद्धता छ । यस्तै विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक शिक्षालाई प्रोत्साहन गरिने, सबै उमेरका व्यक्तिहरूको स्वास्थ्य र कल्याण सुनिश्चित गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।