May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

एमालेले सपनामात्रै बाँड्यो, काम गरेन : चन्द्र भण्डारी

भैरहवा– काँग्रेस नेता डा. चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको आरोप लगाएका छन् । उनले एमालेले सपना मात्रै बाँड्ने तर काम भने नगर्ने जनाए । अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई उनले आग्रह गरे ।

Advertisement

नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाउँदै जनतालाई देखाएका सपना सपनामै सिमित भएको बताए । उनले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाँडेर जनता झुक्याउने काम काँग्रेसले नगर्ने पनि बताए ।

सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले बुटवलको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र ठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेयले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा बिकास गर्ने र चुनाव गरेका बाँचा ५ वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवललाई मानवताको सहरको रुपमा बिकास गर्ने र बुटवलमा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता जनाए ।

त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । उनले अघिल्लो स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारले जिते पनि आफूले गरेका बाँचा एउटा पनि पुरा नगरेको बताउँदै आफूहरुले जितेमा त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गरे ।