May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

वडालाई समृद्ध बनाउने गुप्ताका योजना

भैरहवा– सिद्धार्थनगर नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार रामदयाल गुप्ताले आफूले वडालाई समृद्ध बनाउन चाहेको बताएका छन् । उनले विकासमा वडा पछाडी परेको भन्दै यहाँको एकीकृत विकास गर्न आफूले चाहेको बताए ।

नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका गुप्ताले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा जनसरोकारका कार्यक्रमहरु ल्याउने र सन्तुलित विकासको खाका कोर्ने काम एमालेको ९ महिने सरकारले सुरु गरेको बताए । ‘ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाउँ र अधिकारको विकेन्द्रीकरण गरी तत्कालीन स्थानीय तहलाई बजेट उपलब्ध गराई समग्र मुलुकको विकासको मार्गचित्र निर्माण गर्ने काम हाम्रो पार्टी नेतृत्वको सरकारले नै गरेको हो’, उनले भने, ‘वडालाई समृद्ध र विकसित बनाउन पार्टी नीतिअनुसार मैले काम गर्ने छु ।’

वडा विकासमा गुप्ताले अघि सारेका योजना
– सामुदायिक विद्यालय र मदरसाको भौतिक पूर्वाधार निर्माण तथा गुणस्तरीय शिक्षामा जोड दिने ।
– कमजोर विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने ।
– जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने ।
– प्रतिष्पर्धात्मक परीक्षाको तयारी कक्षा निःशुल्क रुपमा सञ्चालन गर्ने ।
– वडाभित्रका एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक सामग्रीबाट सम्मान गर्ने ।
– सामुदायिक विद्यालयमा छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने ।
– स्वास्थ्य चौकीलाई व्यवस्थित गर्दै एम्बुलेन्स सेवा सञ्चालन गर्ने ।
– वडाभित्रका विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा गराउने ।
– वडाभित्र समयसमयमा विभिन्न रोगका विशेषज्ञहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
– सार्वजनिक सुलभ शौचालयको व्यवस्था गर्ने ।
– कृषकहरुलाई समयमै मलखाद उपलब्ध गराउनका लागि पहल गर्ने ।
– वडाभित्र रहेका कृषकहरुलाई बिउबिजन र किटनाशक औषधि सुपथ मुल्यमा उपलब्ध गराउने ।
– नाला, ढल तथा सडक निर्माण एवं मर्मत गर्ने ।
– मन्दिर, मस्जिदको मर्मतसम्भार तथा व्यवस्थित गर्ने ।
– प्रत्येक वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने ।
– चालु आर्थिक वर्षका अधुरा निर्माण कार्यहरु क्रमशः पुरा गर्दै जाने र नयाँ कामको थालनी गर्ने ।
– वाईफाई जडान गरी वडालाई फ्री वाईफाई जोन बनाउने ।
– वडाका विभिन्न स्थानमा वृक्षारोपण गरी ग्रीन पार्क निर्माण गर्ने ।
– प्रत्येक टोलको चोक तथा चौराहामा प्रहरीको समन्वयमा सीसीटिभी जडान गर्ने ।
– वडाभित्र रहेका सामाजिक संघ–संस्था, क्लबका लागि विभिन्न सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने ।
– वडामा विभिन्न विपद्बाट जोगिन र वडाबासीलाई जोगाउन इच्छुक युवाहरुलाई आवश्यक तालिम तथा पूर्व तयारी सामग्री एवं उपकरणहरुको व्यवस्थापन गरी स्वयंसेवक परिचालन गराउन पूर्वतयारी गर्ने ।
– वडाभित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने ।
– वडाभित्र रहेका बेरोजगार युवा तथा महिलाहरुलाई सीपमूलक तालिम सञ्चालन गर्ने ।
– बाल उद्यान पार्कको निर्माण गर्ने ।
– वृद्धवृद्धाहरुको स्वास्थ्य, दिनचर्या, पारिवारिक रहनसहन तथा संरक्षण के–कस्तो छ अभिलेख तयार गरी आवश्यक सहयोग र वृद्धवृद्धालाई वर्षको एकपटक तीर्थयात्रा तथा सम्मान गर्ने ।
– उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गरी उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्ने ।

Advertisement