March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

तिलोत्तमाका प्रमुख घिमिरेलाई आयोगले सोध्यो स्पष्टीकरण

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

Advertisement

निर्वाचन आयोगलाई चुनौतीपूर्ण अभिव्यक्ति दिएको हो/होइन भन्दै आयोगले संवैधानिक आयोगको गरिमा घट्ने गरी अभिव्यक्ति नदिन र आचारसंहिताविपरीतका कार्य नगर्न/नगराउन निर्देशन दिएको छ ।

Advertisement

दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि आयोगले उनलाई २४ घण्टाको समय दिएर स्पष्टिकरण पेस गर्न भनेको हो ।

आयोगको पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ मा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था रहेको सन्दर्भमा तपाईंले रुपन्देहीको विभिन्न स्थानमा आयोजना गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएको भन्ने फोटोसहितको समाचार आएको र कारबाही गर्न निर्वाचन आयोगलाई समेत चुनौती दिएको विषय तपाईंले भनेको हो होइन् ?’

प्रमुख घिमिरेले निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) विपरीतको काम गरेको आयोगले प्रष्ट पारेको छ । पत्रमा भनिएको छ, ‘तपाईंलाई निर्वाचन ऐन २०७३ को दफा २३ उपदफा (३) बमोजिम किन कारबाही गर्नु नपर्ने हो, सो विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न हुन आदेशानुसार अनुरोध छ ।’

उनले दुई दिन अघि तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा आफूले आचारसंहिता विपरीत काम गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई चुनौति दिएका थिए । एमालेबाट निर्वाचित घिमिरेले एमाले तिलोत्तमाका मेयर उम्मेदवार मोहन चापागाईलाई जिताउन भन्द्र प्रचारप्रसार गर्दै हिँडिरहेका छन् । उनी यहाँ एमालेको निर्वाचन परिचालन कमिटी संयोजक छन् ।