July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

स्थानीय निर्वाचन एमालेले जित्छ : भुसाल

तिलोत्तम– नेकपा एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेले जित्ने दावी गरेका छन् । उनले यो निर्वाचन एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताए ।

Advertisement

रुपन्देहीको तिलोत्तमामा सोमबार आयोजित चुनावी कार्यक्रममा बोल्दै भुसालले भने, ‘महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ । महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’ एमाले यस निर्वाचनमा पाण्डवको रुपमा खडा भएको उनको भनाई छ ।

Advertisement

महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालीको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए । नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अवको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । ‘यहाँ पाँच वर्षमा प्रयाप्त पूर्वाधारको विकास भएको छ, अव यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरु अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ’, भुसालले भने ।

तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसावले एमालेले सबै हिसावले क्षमताबान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे । एमालेका उम्मेदवारको तुलनामा अरु कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दावी गरे ।