May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

एकीकृत समाजवादीले रेलका सपना बाँड्दैन : पुन

भैरहवा– नेकपा एकीकृत समाजवादी पार्टी सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवार थमन पुन (कुलेन्द्र)ले आफूहरुले कहिल्यै पनि असम्भव सपनाहरु नबाँड्ने बताएका छन् । उनले पानी जहाज, रेलका कुरा गरेर मात्रै नहुने भन्दै जनअपेक्षाअनुसार काम गर्न आफूले मेयरमा उम्मेदवारी दिएको जनाए ।

Advertisement

सोमबार भैरहवा मर्निङ्गवाक ग्रुपद्वारा आयोजित मेयर पदका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पुनले भने, ‘हिजो रेल र पानी जहाजका सपना बाँडिए, जनताले खोजेको विकास हो । न रेल आयो, न पानी जहाज । जनताले विकासको अनुभूति नै गर्न पाएनन् । त्यसैले हामीलु झुटा कुरा गर्दैनौं, नागरिकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषय हाम्रो पार्टी र मेरो एजेन्डा हो ।’

उनले गत २०७४ को निर्वाचनमा भैरहवा, बुटवल र लुम्बिनीमा मोनोरेलको असम्भव सपना बाँडिएको जनाए । उनले आफूले जिते पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई राखेर काम गर्ने प्रतिबद्धता जनाए । ‘मानिस स्वस्थ रहे बल्ल उसले काम गर्न सक्छ, त्यसैले हाम्रो पहिलो लक्ष्य नागरिकलाई स्वस्थ राख्ने नै हो’, उनले भने ।

उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी प्रत्येक नागरिकका लागि निःशुल्क गर्ने जनाए । सामुदायिक विद्यालयको पठनपाठन सुधार गर्न योजनाबद्ध काम गर्ने उनले जनाए । पूर्वाधार थप गरेर निजी विद्यालय भन्दा सरकारी विद्यालयलाई अब्बल बनाइने उनले योजना सुनाए ।

यस्तै, पुनले युवा श्रम गठन गरि नगरमा रहेका युवाहरुको अवस्था बारे जानकारी लिने बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउँदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्नहरुको सेवामा खर्च गर्ने बताए । ‘म निर्वाचित भएँ भने कुनै पारिश्रमिक र भत्ता लिँदैन’, उनले भने, ‘सबै सामाजिक काममा लगाउँछु ।’ उनले नगरलाई भ्रष्टाचार मुक्त बनाई सुशासन कायम गर्न लागि पर्ने प्रतिबद्धता गरे ।