May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

मंगलापुर–कान्छीबजार सडक जीर्ण भयो, स्तरोन्नती गर्छौं : खाँण

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमामा गठबन्धनबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले मंगललापुर–कान्छिबजार सडक जीर्ण अवस्थामा रहेको भन्दै यसलाई स्तरोन्नती गरिने बताएका छन् । जीर्ण अवस्थामा रहेको सडकका कारण नगरबासीले सास्ती खेप्नु परेको भन्दै उनले निर्वाचित हुँदावित्तिकै सडक मर्मत र स्तरोन्नतीको काम गरिने बताए ।

Advertisement

आइतबार तिलोत्तमा–७, सेमरा बजारमा गठबन्धनको संयुक्त चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार खाँणले यो क्षेत्रमा सडकको बेहाल अवस्था हुँदा जनताले दुख पाएको उल्लेख गरे । ‘अब तपाइँहरुले सडकका कारण दुःख पाउनु पर्दैन, हामीलाइ चुनाव जिताएर पठाउनुस्, सडकको स्तरोन्नती गर्छाै’, उनले भने ।

एमालेले चुनाव जित्दा सरकार चलाउन पनि नसकेको र प्रतिपक्षमा बसेर पनि सही काम गर्न नसेकेको भन्दै उनले तिलोत्तमामा एडीबीले बनाएको मुख्य सडक बाहेकका सबै सडकको अवस्था बेहाल र जीर्ण भएको जनाए । तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने गरि आफूहरुले नयां प्रतिबद्धता पत्र सार्बजनिक गरेको भन्दै उनले तिलोत्तमाको समग्र बिकासका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह ग्े ।

उनले तिलोत्तमामा एमाले नेतृत्वको सरकारले कृषि अनुदानको क्रममा नक्कली गुणस्तरहीन बिउहरु (धान, गहुँ, मकै, आलु लगायत) बितरण गरेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाउँदै आफूले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेद्वार हेमलाल पाण्डे (हेमन्त)ले एमाले नेतृत्वको तिलोत्तमाले घोषणापत्र अुनसारको कुनै पनि काम नगरेको टिप्पणी गरे । उनले जनप्रतिनिधिहरू आफूलाई राजा सम्झने गरेको र एमाले कार्यकर्ताका मात्रै काम गरेको आरोप लगाए । उनले गठबन्धन निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै तिलोत्तमा ७ का अध्यक्ष पदका उम्मेद्वार दिनमणि पंगेनीले वडामा सेवा लिने क्रममा एमाले नेतृवको वडा अध्यक्षले भेदभाव गरेको गुनासो गरे । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेद्वार बनेका पंगेनीले आफू निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाए ।

कांग्रेस महसमिति सदस्य रोमणि पाठकले गठबन्धन सामान्य परिवेशमा बनेको नभई देशको बिशेष परिस्थितिले निर्माण भएको हुंदा कांग्रेस कार्यकर्ताले गठबन्धनमा घात गर्न नहुने बताए ।