April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

बालश्रम मुक्त गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता

भैरहवा– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सिद्धार्थनगर कमिटीले तयार गरेको ११ बुँदे प्रतिवद्धता पत्रमा नेकपा एमालेका उम्मेदवारहरुले हस्ताक्षर गरेका छन् । आइतबार भैरहवामा आयोजित कार्यक्रममा एमालेको तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार डा.रामप्रसाद बस्याल र उपप्रमुख उम्मेदवार उमा अधिकारीले हस्ताक्षर गरेका हुन् ।

Advertisement

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा जिफन्ट सिद्धार्थनगरको पहलमा उक्त हस्ताक्षर गरिएको हो । न्यूनतम बेतन र श्रमिकका सुविधा र कानून अनुसारका अन्य अधिकार कार्यान्वयन गर्न प्रतिवद्ध रहने, बाल श्रम उन्मुलन गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई सहभागि गराउन पहल गर्ने, आफ्नो पालिकाभित्रका श्रमिकको परिचयपत्र बनाउने, महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा वृद्धि गर्ने लगायतका प्रतिबद्धता छन् ।

Advertisement

यस्तै, श्रमिकका छोराछोरी अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने, भूमिहिन–सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी लालपूर्जा दिन पहल गर्ने, कृषि श्रमिकलाई कृषि सम्बन्धित तालिम बिउ, मल, खाद र सिंचाईको लागि सहुलियत उपलब्ध गराउने, श्रमिकलाई न्याय दिन पालिकामा श्रम डेस्क स्थापना गर्ने र निर्माण, यातायात, अटो मेकानिक लगायत संगठित–असंगठित क्षेत्रका श्रमिकका विभिन्न समस्या हल गर्न सहयोग गर्ने जिफन्ट सिद्धार्थनगरको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कार्यक्रममा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले एमालेकै अगुवाइमा नेपालको संविधान बनेकाले यो संविधान अन्य मुलुक भन्दा राम्रो भएको बताए । उनले समाजवाद उन्मुख संविधान लेख्न कम्युनिष्टहरुको उपस्थिति आवश्यक रहेको र त्यसमा एमालेको भूमिका महत्वपूर्ण रहेको जनाए । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले ढुक्क भएर निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । उनले श्रमिकलाई एमालेले सदैव सम्मान गर्ने बताए ।

मेयर पदका उम्मेदवार डा.बस्यालले श्रमिकको हकअधिकार सुरक्षित हुनुपर्ने बताए । उनले अधिकार पाउन प्रयत्न गर्नुपर्ने भन्दै त्यो प्रयत्नमा आफूहरुको साथ रहने जनाए । उपप्रमुखका उम्मेदवार उमा अधिकारीले एमालेले श्रमिकका माग पुरा गर्ने बताइन् । उनले श्रमिकका माग पुरा गराउन एमालेलाई जिताउन आग्रह गरिन् ।