अवैध हातहतियारसहित रुपन्देहीमा चारजना पक्राउ
भैरहवा– रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीया गणेश राना, सोही ठाउँका ४६ वर्षीया कृष्णबहादुर कामु, ४९ वर्षीया सुनबहादुर आले र ३६ वर्षीया चेतबहादुर दर्लामी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।
उनीहरुलाई देवदह– ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वन भित्र भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त वनमा भरुवा बन्दुकसहित मानिसहरु हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पौने तीन बजे चारैजनालाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।
उनीहरुको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्