May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

एमालेको प्रतिबद्धता : तिलोत्तमाका भित्री मुख्य सडकलाई दुई लेनमा स्तरोन्नती गरिने

तिलोत्तमा– नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकका रुपमा स्तरोन्नती गरिने प्रतिबद्धता जनाएको छ । आगामी ५ वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नति एमाले उम्मेदवारले प्रतिबद्धता जनाएका हुन् । साथै ती सडक कालोपत्रे गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

Advertisement

हाल एमालेकैं नेतृत्वमा रहेको नगर सरकारले पाँच वर्षको अवधिमा धेरै सडक कालोपत्रे गरिसकेको छ । तर, नयाँ नगरपालिका र बस्ती विकास तीव्र भएकाले यहाँ कालोपत्रे गर्नुपर्ने सडक अझै बाँकी छन् । विश्व बैंकको सहयोगमा मंगलापुरदेखि कान्छी बजारसम्मको सडकलाई यस क्षेत्रकैं नमूना सडकको रुपमा स्तरोन्नती गर्न प्रक्रिया अघि बढेको छ भने अन्य कतिपय सडकहरु निर्माणको क्रममा छन् ।

पाँच वर्षको अवधिमा नगरमा चाहिने अत्यावश्यक भौतिक पूर्वाधारमा बढी बजेट खर्च भएकोले पर्याप्त रकम सडकमा लगाउन नसकिएकोमा आगामी पाँच वर्षमा यथेष्ट बजेट सडक स्तरोन्नतीमा लगाइने नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंले बताए ।

‘नयाँ नगरपालिका भएकाले एमाले नेतृत्वको टीमले पहिलो पाँच वर्ष प्रमुख प्रशासकीय भवन, वडा कार्यालय भवन, स्वास्थ्य संस्था भवनलगायत सहरी पूर्वाधारमा अन्य क्षेत्रमा बढी खर्च गर्नुपर्यो, अब हाम्रो नेतृत्वले मुख्य—मुख्य सडकको स्तरोन्नती, सहायक सडक कालोपत्रेलाई प्राथमिकतामा राख्छ’, उनले भने ।

तिलोत्तमा नगरपालिकामा मुख्य—मुख्य सडकहरुको राइट अफ वे निर्धारण गरिएको छ भने सडक सञ्जाल विकासको प्राथमिकता निर्धारण गरिएको छ । एमालेले स्थानीय चुनावको सन्दर्भमा निर्माणाधीन दुई लेनको चक्रपथ निर्माणको कार्य संघ तथा प्रदेश सरकारको समन्वयमा आगामी ५ वर्षभित्रमा सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ । अघिल्लो प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेट पछिल्लो सरकारले कटौती गरिदिएपछि चक्रपथ निर्माण तथा अन्य सडक निर्माणका काम समेत रोकिएका छन् ।

एमालेले कटानी भुल्कादेखि भूपू सैनिक जाने सडकको सुखौरा खोलामा र भूपू सैनिक र देवदहको टटेराजोड्ने रोहिणी खोलामा पक्की पुल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग आवश्यकपहल गरिने, नगरपालिकाभित्र भइरहेका सडकको स्तरोन्नति गर्ने तथा अब बन्ने नयाँ सडकको न्यूनतम मापदण्ड कायम गरी गुणस्तरीय सडक विस्तार गरिने प्रतिबद्धता जनाएको छ ।