May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

कांग्रेस र माओवादीबीच सिद्धार्थनगरमा तालमेल

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेका छन् । सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै तालमेल सहमति भएको जनाइएको छ ।

Advertisement

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट इस्तियाक अहमद खान र उपमेयरमा माओबादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओबादीबाट मेयरमा मनिषकुमार जोशी र कांग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका थिए ।

प्रतिगमनलाई पराजित गर्दै राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षाका लागि एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एकआपसमा सहमती गरी संयुक्त गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने निर्णय भएको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए ।

सहमती अनुुरुप आफ्नो उम्मेदवारी फिर्ता लिंदै मेयरका उम्मेदवार जोशीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सवैको दायित्व रहेको बताए । चुनावी तालमेलसंगैं गठबन्धनको जित थप सुनिश्चित भएको उनले बताए ।

त्यस्तै उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफू नै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताइन् । गठबन्धन भएसंगै शनिवारदेखि मेयर र उपमेयरका उम्मेदवारहरु संयुक्त रुपमा घरदैलोमा निस्कने भएका छन् ।