दाङका चार पालिकामा टुट्यो गठबन्धन
दाङ– दाङका दुई उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि अन्य पालिकामा भने गठबन्धन भत्किएको छ। नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएपछि जिल्लाका चार स्थानीय तहमा गठबन्धन भत्किएको हो।
लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवार खडा गरेको छ। जसले गर्दा गठन्धन हुन सकेन।
गढवा गाउँपालिकामा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदारी दिएका छन्। राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ। यो पालिकामा एकीकृत समाजवादीले एकल उम्मेदवार खडा गरेको छ।
एकीकृत समाजवादी र माओवादी केन्द्रले भाग धेरै खोजेपछि नेपाली कांग्रेससँग तालमेल हुन नसकेको बताइएको छ। जिल्लाका दुई उपमहानगरपालिकामा गठबन्धनबाट मनोनयन दर्ता हुने, तर अन्य पालिकामा भने त्यो सफल नहुँदा ती दुई उपमहानगरपालिकाको निर्वाचनको मत परिणाममा समेत असर पर्न सक्ने बताइएको छ।
यता लमही नगरपालिकामा नेपाली कांग्रेसले एकल मनोनयन दर्ता गरेपछि माओवादी केन्द्रले पनि एकल मनोनयन दर्ता गरेको छ। नेपाली कांग्रेसबाट जोगराज चौधरीले प्रमुख र लक्ष्मी योगीले उपप्रमुखमा मनोनयन दर्ता गरेकी छन्।
नेकपा माओवादी केन्द्रबाट बसन्तराज शर्मा पण्डितले नगर प्रमुख र गंगा पाण्डेले उपप्रमुखमा मनोनयन दर्ता गरेकी छिन्। लमहीमा एकीकृत समाजवादीबाट प्रमुखमा शोभा घिमिरे, उपप्रमुखमा गणेश चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।
राप्ती गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसालले मनोनयन दर्ता गराएका छन्। नेकपा माओवादीबाट अध्यक्षमा प्रकाश विष्ट र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका केशव खनालले मनोनयन दर्ता गरेका छन्। एकीकृत समाजवादीले राप्तीमा एकल मनोनयन दर्ता गरेको छ।
गढवा गाउँपालिकामा नेपाली कांग्रेसले एकल मनोनयन दर्ता गरेको छ। अध्यक्षमा सर्वजित डिसी र उपाध्यक्षमा शारदा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन्। यहाँ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ।
कांग्रेससँगको गठबन्धन भत्किएपछि यी दल मिलेर चुनावी यात्रा तय गरेका छन्। अध्यक्षमा माओवादीबाट यमनारायण पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले मनोनयन दर्ता गराएकी छन्।
राजपुर गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै प्रतिस्पर्धामा छन्। कांग्रेसबाट अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादवले मनोनयन दर्ता गरेका छन्। माओवादीबाट चक्रबहादुर खड्काले अध्यक्ष र उपाध्यक्षमा पुष्पा यादवले मनोनयन दर्ता गराएका छन्।
प्रतिकृया दिनुहोस्