July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

लुम्बिनीको उपमेयर श्रीवास्तव र युवा नेता चौधरीद्वारा लोसपा परित्याग, जप्रपाबाट निर्वाचन लड्दै

लुम्बिनी– लुम्बिनी सांस्कृतिक नगरपालिका उपमेयर जानकीदेवी श्रीवास्तव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता अम्रिक चौधरी (बिक्कु) हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

Advertisement

आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी युवा नेता चौधरी र उपमेयर श्रीवास्तवले पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरु दुवै जनालाई पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रदिप पाठक, महामन्त्री नविन पाठक लगायतले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेशसँगै चौधरी लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख (मेयर) र श्रीवास्तवले उपमेयरमा उम्मेदवारी दिने भएका छन् ।

Advertisement

श्रीवास्तव गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । गत महिना उनले जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी लोसपामा प्रवेश गरेकी थिइन् ।

पत्रकार सम्मेलनमा युवा नेता चौधरीले मेयरको रुपमा आफू निर्वाचित भए युवामैत्री, वातावरणमैत्री र बालमैत्री नगर बनाउने बताए । उनले ‘एक घर, एक उद्यमी’, प्राविधिक शिक्षा, सिपमूलक तालिम, महिलालाई स्वरोजगार, अत्याधुनिक खेल मैदान, लुम्बिनी विकास कोषमा स्थानीयलाई रोजगार, कृषकलाई किसान कार्ड, मल, बिउबिजन लगायतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरपालिकाको प्रमुखमा पार्टीको तर्फबाट अम्रिक चौधरी र उपप्रमुखमा जानकीदेवी श्रीवास्तवलाई उम्मेदवार बनाउने जनता प्रगतिशील पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रदिप पाठकले बताए । उनले सकेसम्म नगरका १३ वटै वडा नभए हाल ११ वडामा पनि पार्टीबाट उम्मेदवार बनाएर स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गराइने बताए ।

फरक ढंगले पार्टी अगाडी बढ्ने पाठकले बताए । उनले भने, ‘नेपालमा धेरै पार्टीहरु छन्, नयाँ सोचका साथ अगाडी बढेका छौं ।’ चौधरीले युवा वर्ग राजनीतिमा आउन जरुरी रहेकाले राजनीतिमा आएको बताए । उनले युवा वर्ग राजनीतिमा नआएसम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले लुम्बिनी क्षेत्रमा लोसपालाई स्थापित गरे पनि पार्टीले धोका दिएको बताए ।

उनले भने, ‘लोसपाले आश्वासन दियो, सम्पूर्ण रुपमा पार्टीको संगठन विस्तार अभियानमा लाग्यौं, तर एकलौटी रुपमा अर्कै व्यक्तिलाई टिकट दिइयो ।’ टिकट दिएकोप्रति आपत्ति नभए पनि राजनीतिक रुपमा आफूहरुलाई पछाडी धकेल्ने काम लोसपाबाट भएको उनले बताए । लोसपाबाट टिकट पाउँदापाउँदै लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडाध्यक्षहरु पनि जनता प्रगतीशिल पार्टीमा आएको उनको भनाइ थियो । जीवन श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।