April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पर्यावरण क्षेत्रमा क्रियाशील कुर्मीद्वारा उप–प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा

भैरहवा– लामो समयदेखि पर्यावरण संरक्षण क्षेत्रमा क्रियाशील रुपन्देहीका युवा अर्जुन कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको उप–प्रमुख (उपमेयर) पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । शनिवार दिउँसो भैरहवामा समर्थकसहित पत्रकार सम्मेलन गरेका उनले युवाहरुको चाहना बमोजिम आफू उम्मेदवार बनेको बताए ।

Advertisement

‘मेरो जीत सुनिश्चित छ,’ उनले भने, ‘समग्र लुम्बिनी क्षेत्रको बिकासका लागि मैले उम्मेदवारी घोषणा गरेका हुँ ।’ प्रचारप्रसार समितिले गरेको पत्रकार भेटघाटमा उनले आफू निर्वाचित भएपछि सम्पन्न गर्ने योजनाबारे सुनाएका थिए । यसअघि विभिन्न रानीतिक दलमा प्रवेश गरेका उनले युवाहरुको चाहना अनुसार स्वतन्त्र उम्मेदवारी दिनु परेको बताए ।

Advertisement

उनले युवा र लुम्बिनीका आधारभूत आवश्यकता समेटेर आफ्ना एजेण्डा बनाएका छन् । ‘मैले जिते भने एक घर, एक उद्यमी तयार गर्छु,’ उनले भने, ‘लुम्बिनीका युवाका लागि खेल मैदान मेरो प्राथमकिता हो ।’ किसानलाई मल र बीउ अनुदानका लागि ‘कृषि कार्ड’ लागू गर्ने उनले बताए ।

‘सिंचाई समस्या समाधान गर्छु,’ उनले भने, ‘लुम्बिनीलाई निःशुल्क वाइफाई जोन बनाउँछु ।’ जिल्लाकै उत्तरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधार भएको जनाउँदैं लुम्बिनीका विद्यालयलाई आधुनिकिकरण गर्ने योजना रहेको उनले सुनाए । ‘खुला जिमशाला तयार गर्छु,’ उनले भने, ‘छोरीका लागि प्रविधिमा आधारित शिक्षा व्यवस्था गर्नेछु ।’ नगरपालिकामा रहेका रिक्सा, ट्याक्सी र अन्य वाहनलाई लुम्बिनी बिकास कोषभित्र प्रवेशमा लाग्दै आएको शुल्क हटाउन पहल गर्ने उनले बताए ।

‘होमस्टे सञ्चालन गरेर आय बढाउने योजना छ,’ उनले सुनाए, ‘संरक्षण र वातावरणको क्षेत्रमा विशेष योजना ल्याउनेछु ।’ अन्तर्राष्ट्रिय लगानी भित्र्याउन भूमिका खेल्ने र दीर्घ र समस्याग्रस्त रोगीको उपचार निःशुल्क गर्ने उनले बताए । ‘कालीदहमा रहेको छोटी भन्सार स्तरोन्नतीका लागि पहल गर्नेछु,’ उनले भने ।

उनी ग्रीन युथ क्लव लुम्बिनीका अध्यक्ष हुन् । यस्तै, ग्रीन युथ क्लव नेपालको राष्ट्रिय अध्यक्षसमेत भइसकेका छन् । उनको क्लवमा अहिले पनि लुम्बिनी क्षेत्रका एक हजार युवा सदस्य छन् । ‘ती एक हजार सदस्यका परिवारले मलाई भोट हाल्नुहुन्छ,’ उनले भने, ‘मेरो जीतको आधार यिनै युवा र उनीहरु घरपरिवार तथा मैले लुम्बिनीमा गरेको कामहरु हुन् ।’

लामो समय सामाजिक परिचालक र विभिन्न गैरसरकारी संस्थामा काम गर्ने शिलशिलामा स्थानीय जनतासित गांसिएकाले उनीहरुको भावना बुझेको र आफू परिचित रहेको उनले बताए । प्रचारप्रसार समितिको संयोजक उनका बुवा गंगाराम छन् । आफू लामो समय तत्कालीन सदभावना पार्टीमा क्रियाशील रहेको जानकारी दिँदैं गंगारामले भने, ‘अब युवालाई पालो दिनुपर्छ भनेर मैले छोरालाई अघि बढाएको हुँ ।’

३४ वर्षीया कुर्मी सानैदेखि विभिन्न संघसंस्थामा रहेर काम गर्दै आएका थिए । विद्यालय तह अध्ययन गर्दादेखि नै उनले रेडक्रस जस्ता अन्य थुप्रै संस्थामा रहेर काम गरेका थिए । ‘म घरघर गएर लुम्बिनीका स्थानीयको समस्या बुझेको छु, समस्यासँग परिचित छु’, उनले भने, ‘मैले देखेका, भोगेका समस्या समाधान गर्न पनि म नेतृत्वमा पुग्नुपर्छ ।’

उनले लुम्बिनी १० देखि १५ हजार युवाहरु मतदाता रहेको जनाउँदै ती युवाशक्तिको चाहना अनुसार उम्मेदवार बनेको बताए । ‘युवालाई अवसर दिनुपर्छ, अवसर पाए गरेर देखाउँछन् भन्ने उदाहरण म बन्न चाहन्छु’, उनले भने । उनले सयौं युवाहरुको भावना बोकेर आफू उम्मेदवार बनेको जनाए ।