एमाले सिद्धार्थनगर र तिलोत्तमाको घोषणा पत्र सार्वजनिक
भैरहवा– नेकपा एमाले सिद्धार्थनगर नगर कमिटी र तिलोत्तमा नगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेका छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो ।
एमाले सिद्धार्थनगर कमिटीले २६ बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । तिलोत्तमाले २८ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले नगरको भौतिक स्तर उन्नती, पर्यटन प्रबद्र्धदेखि नेपाली कला, भाषा, साहित्य पत्रकारीताको विकास गर्ने गरि घोषणा पत्र बनाइएको बताए ।
घोषणा पत्र सार्वजनिक गर्दै एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेलले बिगतमा गरेका अत्यधिक प्रतिबद्धताहरु पुरा गरेको बताउँदै अबको निर्वाचनमा एमालेको जितसंगै सिद्धार्थनगरमा बाँकी रहेका विकास निर्माणका काम र भावी योजनाहरु पुरा गर्ने बताए ।
तिलोत्तमा नगर कमिटीले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्व लिला गिरीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमाले तिलोत्तमाले तयार गरेको घोषणापत्रले शिक्षा, स्वास्थ्य, खानेपानी र ढल निकास, फोहरमैला व्यवस्थापन, विद्युतीकरण र आधुनिक उर्जा, जलस्रोत तथा सिंचाई पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि तथा पशुपंक्षीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा तिलोत्तमा नगरपालिकाले बिगत पाँचवर्षमा हासिल गरेका उपलव्धिहरुको पनि विश्लेषण गरिएको छ ।
घोषणा पत्रमा नगरप्रमुख वासुदेव घिमिरेको कार्यकालमा महत्वपूर्ण उपलव्धि हासिल गरेको दाबी गरेको छ । घिमिरे नेतृत्वको कार्यकालमा पूर्ण सरसफाईउन्मुख देशकै पहिलो नगरपालिका, तिलोत्तमा लगानी सम्मेलनको आयोजना, नगरको आफ्नै गीत, लोगो र सिटी फूल, मुलुककै पहिलो खुला पोलिथिनमुक्त नगरपालिका, नगरभित्र निर्माण हुने घरहरुमा एउटै कलरकोड कार्यान्वयन, छोटो अवधिमा सम्पूर्ण वडा कार्यालय निर्माण गरी सहज सेवा प्रवाह, उपत्यकाबाहिर पहिलोपटक ६ लेन सडकमा ट्राफिक लाईट, डिजिटल घर नम्बरिङ, ५१ वटा सूचक पूरा गरी मुलुककै पहिलो बालमैत्री नगरपालिका घोषणा र सेवा प्रवाहमा आइएसओ प्रमाणित नगरपालिका भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै एकीकृत नगर विकास योजना निर्माण, विद्यालयहरुमा जंकफुड निरुत्साहित, २१ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, आकर्षक उद्यानहरु निर्माण, नगरपालिकाको बाल प्रोफाईल निर्माण, सामुदायिक विद्यालयमा आकर्षण बढाउन १२ वटा विद्यालयका लागि बस उपलव्ध, सबै सामुदायिक विद्यालयमा खानेपानी, शौचालय, भवन लगायतका पूर्वाधार निर्माण, सबै वडामा स्वास्थ्य संस्था, ज्येष्ठ नागरिक र गर्भवति महिलाको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थालगायतका काम बिगत पाँच वर्षमा भएको एमालेको दावी छ । त्यस्तै कृषि, पूर्वाधार विकास, समावेशिता, वन, वातावरण तथा विपद व्यवस्थापन, महिला उद्यमशीलता, पर्यटन तथा सुशासनको क्षेत्रमा पनि महत्वपूर्ण उपलव्धि हासिल भएको एमालेको घोषणापत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्