रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । पालिकाका १२ वर्षभन्दा माथिका नागरिकलाई कोभिडबिरुद्धको खोप कम्तिमा २ पटक लगाइएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना जनसंख्या रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले बताए । उनले पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको बताए ।
पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोजकुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मी एवम् महिला स्वास्थ्य स्वयम्सेविकाहरुको योगदान सह्रानीय रहेको बताए । ‘कोभिडको समयमा अन्य सबै घरभित्र बस्दा तपाइँहरु फिल्डमा खटिनुभयो । तपाइँहरुको परिवारको चिन्ता लिँदै रोहिणीका जनताको सेवा गर्नुभयो । तपाइँहरुको यो कार्य रोहिणी गाउँपालिकाका जनताले कहिल्यै भुल्ने छैनन्’, यादवले भने, ‘अभावै अभावमा काम गरेका स्वयम्सेविका र स्वास्थ्यकर्मीको सेवा सुविधाबारे अहिले गाउँपालिकाले ध्यान दिएको छ ।’
पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका ९६ जना महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मीलाई सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा निर्वाचन अधिकृत रमिला भण्डारी, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, निर्वतमा प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडाध्यक्षहरु सरोजकुमार पाण्डे, इन्द्रमान चौधरी, बिरबहादुर क्षेत्री, आविद अली, महिला स्वयम्सेविका लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्