एकीकृत समाजवादीले बुटवलमा गुरुङ र तुलसीपुरमा रानालाई उम्मेदवार बनाउने
भैरहवा– नेकपा (एकीकृत समाजवादी)ले बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार सिफारिस गरेको छ । यस्तै, तुलसीपुर उपमहानगरपालिको उपमेयरको उम्मेदवारमा जोगबहादुर रानालाई बनाएको छ ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएकाले नाम प्रदेशले केन्द्रमा पठाएको बताए । तुलसीपुरको भने टुंगिएको उनले जनाए । बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्वअध्यक्ष समेत हुन् ।
बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ । यस्तै, उपमेयरका लागि रानाको नाम केन्द्रबाट अनुमोदन भएर आइसकेको समाजवादी दाङका प्रचार विभाग प्रमुख दीपक कुमालले जानकारी दिएका छन् । सत्तारूढ पाँच दलीय निर्णय अनुसार तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको भाग नेकपा समाजवादीलाई परेको छ भने मेयर कांग्रेसलाई परेको छ । कांग्रेसले मेयरको उम्मेदवार छनोट गर्न अझै सकेको छैन ।
समाजवादी दाङले उपमेयरका लागि राना सहित डिल्ली डाँगी र जानका रेग्मीको नाम सिफारिस गरेको थियो । राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज हुन् । उनी एमाले दाङका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भइसकेका व्यक्ति हुन् । लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको थियो ।
प्रतिकृया दिनुहोस्