May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

आफैले भोट हालेका नेताका कारण जनताले दुःख पाए : लिङ्देन

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता आफैले सही दल र नेता चुन्न नसक्दा दुःख पाउनु परेको बताएका छन् । ‘आफैले भोट हालेका राजनीतिक दल र नेताका कारण जनताले दुःख पाएका हुन्’, उनले भने, ‘भाग्यका कारण होइन ।’

Advertisement

बिहीबार बुटवलमा राप्रपाले आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले मतदाताले ठिक राजनीतिक दल र नेतालाई भोट नहाल्दा देश संकटमा परेको टिप्पणी गरे । ‘जनता आफैले भोट हालेर सत्तामा पुर्याए तर विडम्बना तिनै राजनीतिक दल र तिनका नेताका कारण दुःख भोगिरहनु परेको छ ।’

उनले राजाको पालामा २९ अर्ब रहेको विदेशी ऋण अहिले बढेर १७ खर्ब पुगेको बताउँदै संघीयता आएपछि नेता र जनप्रतिनिधि पाल्नका लागि जनतामाथि कर र विदेशी ऋण थुप्रार्दै लगिएको आरोप लगाए । अध्यक्ष लिङ्देनले भने, ‘२०७४ सालको स्थानीय चुनाव हुँदासम्म ८ खर्ब रहेको वैदेशिक ऋण तीन तहका सरकारका मन्त्री र जनप्रतिनिधिलाई तलब भत्ता र गाडी किन्न खर्च हुँदा ५ वर्षमा दोब्बर बढी भएको छ ।’

लिङ्देनले जनप्रतिनिधि पाल्न र गाडी किन्न यति धेरै ऋण लिएर करको दर र दायरा पनि बढाएर जनताले के पाए ? भन्दै प्रश्न गरे । अध्यक्ष लिङ्देनले यही क्रम जारी रहे देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न सक्ने तर्क गरे । भ्रष्टाचार मुलुकको मुख्य समस्या रहेको औंल्याउंदै उनले आफ्नो पार्टीले जित्ने स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरे ।

‘हामीले जितेमा नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्छौं र भ्रष्टाचारीलाई तह लगाउछौं’, उनले भने । देश बचाउने र देश बनाउने बाटोमा राप्रपा अघि बढेको अध्यक्ष लिङ्देनले बताउँदै देश र धर्म जोगाउनका लागि राप्रपालाई तीनै तहको निर्वाचनमा जिताउन आग्रह गरे ।

स्थानीय तहको निर्वाचनमा कुनै गठबन्धनमा सामेल नभई एक्लै चुनाव लड्ने बताउँदै अध्यक्ष लिङ्दनले जनताले जुन स्थान दिन्छन्, त्यही स्थानमा बसेर सेवा गर्ने बताए । राप्रपाले जित्ने स्थानीय तहमा भ्रष्टाचारलाई शून्य बनाउने र शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता राखिने उनले बताए ।

आमसभामा बोल्दै राप्रपाका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा, पार्टी सहमहामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा लगायतले देश र धर्म बचाउने राप्रपाको एजेण्डा भएको बताउँदै सही दल र नेता रोज्न आग्रह गरे ।

यस्तै, राप्रपाले सोही सभामा बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचन र सिद्धार्थनगर नगरपालिकामा सागरप्रताप राणालाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेको छ । आमसभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सैनामैनाका स्थानीय मीनप्रसाद घिमिरेसहित माओवादी केन्द्र, एमाले छाडेर दर्जनौं व्यक्तिलाई अध्यक्ष लिङ्देनले पार्टी प्रवेश गराएका छन् ।