December 10, 2024, Tuesday
२०८१ मंसिर २५

गठबन्धनको निर्णय बुटवल उपमहानगरपालिकामा कार्यान्वयन गरिने

बुटवल- सत्ताघटक दलहरुले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा गठबन्धनको निर्णय कार्यान्वयन गर्ने भएका छन् । उपमहानगरपालिकामा नेपाली काँग्रेसलाई मेयर र उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने केन्द्रमा गठबन्धन निर्णय गरेका छन् । उक्त निर्णय कार्यान्वयन गर्न पाँच दल सहमत भएका हुन् ।

यहाँ काँग्रेसले नगर सभापति खेलराज पाण्डेयलाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ । पाण्डेको एकलौटी नाम सिफारिस गरेको भन्दै काँग्रेसभित्र विवाद भइरहँदा गठबन्धनका दलहरुले विवाद नगरी सिफारिस गर्न आग्रह गरेको छन् ।

Advertisement

नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसीले काँग्रेसले विवाद नगरी उम्मेदवारको सिफारिस गरे बुटवल मेयर जित्न सक्ने बताए । उनले काँग्रेसमा आन्तरिक समस्या भएपछि गठबन्धनमा पनि समस्या हुने भएकाले उम्मेदवार चयन गर्दा विवाद नगरी ल्याउनु पर्ने बताए ।

एकीकृत समाजवादीका प्रदेश सदस्य एवं बुटवल नगर अध्यक्ष चिनबहादुर गुरुङले काँग्रेसको आन्तरिक विवादलाई बाहिर ल्याउन नहुने बताए । उनले काँग्रेसले जसलाई मेयर बनाए पनि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

बुटवलमा एकीकृत समाजवादीले उपमेयर पाएको छ । गुरुङ एकीकृत समाजवादीबाट उपमेयर उठ्दैछन् । माओवादी केन्द्र र जनमोर्चाले वडाहरू पाउने भएका छन् । तर वडाहरूमा कसलाई कति दिने भन्ने निर्णय हुन सकेको छैन । बिहीबार साँझसम्म टुंगो लागि सक्ने गठबन्धनले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा एमाले जितेको बुटवल उपमहानगर पालिकामा गठबन्धनले एमाले हराउने रणनीति बनाएको छ । मंगलबार काँग्रेस बुटवल नगर समितिले मेयरको उम्मेदवारमा खेलराज पाण्डेको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

उम्मेदवार सिफारिससँगै काँग्रेस संस्थापन इतर समूहमा असन्तुष्टि चुलिँदै गएको छ । असन्तुष्ट पक्षले प्रदेश समिति र जिल्ला समितिलाई असहमतिसहितको ज्ञापन पत्र बुझाएको छ । संस्थापन इतर पक्षबाटै उपमहानगरको मेयरमा हरि लम्साल, चन्नु प्रसाद पौडेल लगायतका आकाङ्क्क्षीले लुम्बिनी प्रदेश सभापति अमर पुनलाई नगर सभापतिले एकलौटी काम गरेको भन्दै सच्चाउन ध्यानआर्कषण गराएका थिए ।

प्रदेश सभापति पुनले पार्टीको विधानमा रहेर सवैलाई मान्य हुने गरी निर्णय गर्ने बताए । गठबन्धनले जसरी हुन्छ बुटवलमा एमालेको किल्ला भत्काउने दावी गरेका छन् । एमालेले भने संगठन बलियो भएकाले फेरि पनि जित्ने दावी गरेको छ ।