May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

कांग्रेसबाट बुटवलको मेयर उम्मेदवारका लागि पाण्डे सर्वसम्मत सिफारिस

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवारमा नेपाली कांग्रेसले खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ। यहाँ काँग्रेसमा पाण्डेसँगै क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयर उम्मेदवार बन्न आकांक्षी थिए। तर, अन्ततः पाण्डे सर्वसम्मत सिफारिस भएका छन् ।

Advertisement

काँग्रेस उपमहानगर कमिटी बैठकले नगर सभापति पाण्डेको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको उपमहानगर सचिव छाया पोखरेलले बताइन् । पाण्डे गत स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए। सुवेदीले २३ हजार २ सय ४९ मत ल्याएर विजयी हुँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।

यस्तै, उपप्रमुखका लागि काँग्रेसले रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवालीलाई सिफारिस गरेको छ। ५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे प्रमुखको उम्मेदवार हुनुपर्ने मत राख्दै आएका थिए।

एमालेले बुटवलबाट अहिलेका प्रमुख शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सूर्यबहादुर भट्टराई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम मेयर उम्मेदवारका लागि सिफारिस गरेको छ ।