May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

मलेसिया र रुपन्देही सेमिफाइनलमा

भैरहवा– रुपन्देही एघार र मलेसिया एघार प्रो क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रबेश गरेका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ए बाट मलेसिया, पुस स्पोर्ट्स दिल्ली र रुपन्देहीले अंक तालिकामा समान चार–चार नम्बर ल्याएपछि नेटरनरेट आधारमा मलेसिया र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

Advertisement

आज भएको पहिलो खेलमा नेपाल आर्मीले क्लबले भारतको उत्तर प्रदेशलाई सात विकेटले पराजित गर्दै समूह विजेता भएको छ । त्यसो त दुबै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिले व्याटिङ गर्दै उत्तर प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो ।

जसमा सुभम चौधरीले २७, राज यादव र नितिन रामले समान २१–२१ रन जोडे । आर्मीका सुशान्त भारी, जितेन्द्र मुखिया र हरि चौहानले समान दुई–दुई विकेट लिए ।

जबाफी व्याटिङ गरेको नेपाल आर्मीले आठ बल बाँकी छँदा लक्ष्य पूरा गर्यो । उसका लागि रोहित पौडेलले ३०, भिम सार्कीले २६ र सन्तोष कार्कीले २० रन जोडे ।

अर्को खेलमा दिल्लीले रुपन्देहीलाई चार विकेटले पराजित गरेको छ । पहिला व्याटिङ गरेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । बिशाल बिक्रम केसीले २९ र बसिर अहमदले २८ रन जोडे । दिल्लीका सबै बलरले दुई–दुई विकेट लिए ।

जबाफी व्याटिङ गरेको दिल्लीले १८ ओभरमा लक्ष्य पूरा गर्यो । भिसेस सरोहले सर्वाधिक २६ रन बनाए । विक्रम भुसाल र विशाल विक्रम केसीले समान दुई–दुई विकेट लिए । भोली सेमिफाइनलमा रुपन्देही र नेपाल आर्मी तथा उत्तर प्रदेश र मलेसियाबीच खेल हुनेछन् ।