सत्ता र स्वार्थका लागि गठबन्धन हुनेगर्छ : डा.भण्डारी
भैरहवा– नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले आफ्नो विचार काँग्रेस एक्लै निर्वाचन लड्नु पर्छ भन्ने भए पनि अन्य पार्टी मिल्छन् की भन्ने भयले गठबन्धन हुन लागेको बताएका छन् ।
मंगलबार लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रहीसकेका नेता भण्डारीले भने, ‘तर, गठबन्धन कुनै नीति, सिद्धान्त र मुलुकको आवश्यकतामा नभई सत्ता र स्वार्थका लागि हुने गर्छ ।’ उनले २०७४ को निर्वाचनमा काँग्रेसले माओवादीलाई भोट हाले पनि संघ र प्रदेशको निर्वाचनमा फेरि एमाले र माओवादी मिलेको बताए ।
‘यी सबै स्वार्थका लागि हुने गठबन्धन हुन्, कुनै योजना छैन’, उनले भने, ‘अहिले सत्ता गठबन्धनले निर्वाचनमा गठबन्धन नगर्ने हो भने एमाले र माओवादी पुनः मिल्न सक्छन् ।’ नेता भण्डारीले स्थानीय तहको निर्वाचन समयमै हुने बताए । उनले निर्वाचन सार्ने कुरा हुनै नसक्ने भन्दै तोकिएकै समयमा निर्वाचन भएरै छाड्ने जनाए ।
‘निर्वाचनबारे कुन नेता कतिखेर बर्बराउँछ ? किन बर्बराउँछन्, विपना वा सपनामा बर्बराउँछन् त्यो छुट्टै कुरा हो’, उनले भने, ‘तर, निर्वाचन भने समयमै हुन्छ ।’ उनले स्थानीय तहबाट राम्रो काम भएको र बजेट खर्च भएको बताए । तर उनले सत्ता प्राप्ती नै प्रमुख कुरा हुँदा मुलुक माफियातन्त्रमा फसेको जनाए ।
उनले मुलुकमा स्थानीय तहले राम्रो काम गरे पनि प्रदेशले जनअपेक्षा अनुसार काम नगरेको जनाए । अहिलेकै अवस्थामा मुलुकले खर्च धान्न नसक्ने बताउँदै नेता भण्डारीले भने, ‘हामीले स्थानीय उत्पादन ब्राण्डिङ गर्न सकेनौं, अब आउने प्रतिनिधिले यसबारे सोच्नुपर्छ ।’
राजनीतिमा प्रदूषण भएको भन्दै उनले त्यसलाई सफा गर्ने अवसर भनेकै निर्वाचन भएको बताए । ‘योबेला युवापुस्ता र सबैले सोच्नुपर्छ’, उनले भने । पार्टीगत रुपमा हेर्दा चुनाव जति बेला आउँछ, नेताहरु मनपरी बोल्ने गरेको र पछि स्वार्थका लागि मिल्ने गरेको उनको आरोप छ ।
उनले उम्मेदवार छनोट गर्दा सही मान्छे छान्न नसक्दा अन्तर्घात हुने गरेको जनाउँदै त्यसतर्फ काँग्रेसले ध्यान दिनुपर्ने बताए । वीपीको नीति, सिद्वान्त अनुसार पार्टी चल्न नसकेको बताउँदै नेता भण्डारीले गठबन्धन हुने भएकै कारण कांग्रेसको मतदाता राप्रपातिर प्रवेश गर्ने गरेको जनाए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा कोषाध्यक्ष प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्