May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

प्रो क्लब च्याम्पियनसिप : उत्तर प्रदेश र मलेसिया विजयी

भैरहवा– प्रो क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश–११ र मलेसिया क्लब–११ विजयी भएका छन् । उत्तर प्रदेशले एपीएफ क्लबलाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले पनि पुस स्पोर्टस्, दिल्लीलाई ७ विकेटले पराजित गरेको छ । उत्तर प्रदेशका बलरहरु हावी हुँदा एपीएफले प्रतियोगितामा लगातार दोस्रो खेलमा पनि पराजय व्यहोरेको हो ।

Advertisement

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ्ग गरेको एपीएफ ७६ रनमै समेटिएको थियो । निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ ओभरमा अलआउट भएको थियो । उसका लागि अमर रौतेलाले २५ बलमा २१ रन जोडे । ओपनर प्रदिप ऐरीले १ रन बनाउँदा लोकेश बम दोस्रो बलमा डक आउट भए । एपीएफका सुमित महर्जनले १६, पुरन बिकले १२ रन बाहेक अन्य कसैले दोहोरो अंक जोड् सकेनन् ।

एपीएफलाई सस्तैमा समेट्ने क्रममा उत्तर प्रदेश–११ का अलराउण्डर प्रिन्स शाहीले ४ ओभरमा ११ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिएका थिए । यस्तै विपिन चन्द्रले २ र सन्दिप मित्तल, दिब्य सिंह एवम् नितिन रामले समान १–१ विकट बाँडे ।

७७ रनको झिनो लक्ष्य उत्तर प्रदेश–११ ले ३ विकेट गुमाउँदै १४ औं ओभरमा पूरा गर्यो । उसका लागी राज यादयले अविजित २९ रन बनाए भने विवेक सिंहले २२ तथा राहुल कुमारले १६ रन जोडे । बलिङ्गमा एपीएफका नन्दन यादव र अमर रौतेलाले समान १–१ विकेट लिए ।

अर्को खेलमा मलेशियाका स्टार बलर विरन्दीप सिंहले ह्याट्रिकसहित ५ विकेट लिए पछि मलेसियालाई विजयी हुन सहज भएको थियो । टस जितेर ब्यटिङ्ग रोजेको पुस स्पोर्टस् दिल्लीले अन्तिम ओभरमा मात्र आफ्नो ६ विकेट गुमाउनु परेको थियो । अन्तिम ओभर खेल्नु अघि ३ विकेटको नोक्सानीमा १ सय ३० रन बनाएको दिल्लीको अन्तिम ओभरपछिको स्कोर ९ विकेटमा १ सय ३२ रन रह्यो ।

अन्तिम ओभरको प्रत्येक बलमा विकेट प्राप्त भएको थियो । पुस स्पोर्टस् दिल्लीका लागि कप्तान म्रिगंक पाठकले २७ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३९ रन बनाए । यस्तै, मयंक गुप्ताले ३३, अभिषेक अग्रवालले २६ र इशान पाण्डेले १९ रन जोडे । बलिङ्गतर्फ मलेसिया–११ का विरन्दीप सिंहले २ ओभरमा ९ रन खर्चेर ५ विकेट लिए ।

१ सय ३३ रनको लक्ष्य मलेसियाले ३ विकेट गुमाउँदै १७ दशमलव ३ ओभरमा भेट्टायो । मलेशियाका लागि अलराउण्डर बिरन्दीप सिंहले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । यस्तै, फैज अहमदले ३९ र मोहम्मद आमिरले २५ रन बनाए । बलिङ्गतर्फ दिल्लीका विशेष सरोहा, प्रनय प्रसाद, स्पर्शले समान १–१ विकेट लिए । भोलीको खेल मेलेसिया–११ र नेपाल पुसिल क्लब तथा एपीएफ र ट्यालेन्ट हन्ट, बंगलादेशबीच हुने छ ।