May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

रूपन्देहीद्वारा पुलिस पराजित

भैरहवा– प्रो क्लब च्याम्पियनसिपमा घरेलु टोली क्रिकेट एसोसिएसन अफ रुपन्देही–११ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई २९ रनले पराजित गर्दै जित हात पारेको छ । १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिस १८.५ ओभरमा ८८ रनमा अल आउट भयो ।

Advertisement

पुलिसका रोशन बुढाल २० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा आउट भए । ओपनर शंकर रानाले ३० बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । सिनियर टोलीका अलराउन्डर पवन सरार्फ २, दीलिप नाथ २, गुलशन झा ११, अर्जुन साउद शून्य, पेम तामाङ १ र मञ्जित श्रेष्ठ ७ रनमा आउट भए ।

करण केसी लगातार गोल्डेन डक आउट भए । रुपन्देहीका बशिर अहमदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । स्पिनर अनिल खरेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । विशाल विक्रम केसीले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो । रुपन्देहीका विशाल विक्रम केसीले २५ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाए ।

विक्रम भुषाल १२ बलमा २ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे । ओपनर देव खनाल १३, प्रज्वल थापा ७, सन्दीप रजाली १०, सौरभ खनाल २, बशिर अहमद १७, कृष्ण कार्की शून्य र तुलबहादुर थापाले १३ रन बनाए । पुलिसका पवनले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए ।

करण केसी, गुलशन झा, सागर ढकाल र मञ्जित श्रेष्ठले १–१ विकेट लिए । पुलिस पहिलो खेलमा पुश स्पोर्ट्स दिल्लीसँग १ रनले पराजित भएको थियो । रुपन्देहीले मलेसियाको सिनियर टोलीलाई ६ विकेटले हराएको थियो । आजको जितसँगै रुपन्देही सेमिफाइनल नजिक पुगेको छ । पुलिसले मंगलबार मलेसियासँग खेल्नेछ । रुपन्देहीले बुधबार दिल्लीसँग खेल्नेछ ।