April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

घोराही मुलुककै पहिलो बालमैत्री उपमहानगर

दाङ– घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिएको छ । घोराहीमा आयोजित विशेष समारोहबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा भएको व्यवस्थाबमोजिम घोराहीले ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गरिएको हो ।

Advertisement

मुलुकभरका उपमहानगरमा बालमैत्री घोषणा हुने घोराही पहिलो हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारको अनुगमनका क्रममा सबै प्रक्रिया तथा सूचकहरू पूरा भएको पाइएपछि लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत ९ गते बालमैत्री स्थानीय तह घोषणा गर्न अनुमति दिएको थियो ।

Advertisement

बालमैत्री उपमहानगर घोषणा गर्दै मुख्यमन्त्री केसीले अब घोराहीमा बालबालिकाका अधिकार सुरक्षित हुने बताए । ‘बालबालिका नै भविष्यका आधार हुन् । उनीहरूका सम्पूर्ण अधिकार स्थानीय सरकारले संरक्षण गर्न जरुरी छ,’ उनले भने, ‘बालमैत्री उपमहानगर घोषणाले बालअधिकारको संरक्षणमा महत्वपूर्ण टेवा पुर्याउने छ ।’

घोराहीलाई यसअघि नै पूर्णखोप, खुलादिसामुक्त र सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिसकिएको नगर प्रमुख नरुलाल चौधरीले बताए । बालमैत्री घोषणाले नगरलाई नमुना सहरका रूपमा विकास गर्ने उनले बताए । ‘अब घोराही बालमैत्रीका बारेमा अध्ययन गर्ने महत्वपूर्ण थलो बन्नेछ,’ उनले भने, ‘बालबालिकाका अधिकार कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा अध्ययन गर्न घोराहीमा पुग्नुपर्छ भन्ने सन्देश दिएको छ ।’

नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मित्र गौतम, बालमैत्री फोकल पर्सन मोतीकुमारी विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बालमैत्री घोषणाले नगरको शोभा र इज्जत बढेको बताएका थिए ।