हात्तीपाइलेबिरुद्धको अभियान सफल भएन


नेपालगंज– बाँकेमा लामो समयदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगबिरुद्धको अभियान सफल हुन सकेको छैन । जिल्लामा निकै कमले मात्र यसको औषधि सेवन गरेको पाइएको छ । औषधि सेवनमा बेवास्ताले रोग नियन्त्रणमा चुनौती बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको अभिलेख अनुसार जिल्लामा ५ मध्ये १ व्यक्तिमा हात्तीपाइले रोगका जिवाणु पाइएका छन् । रोग नियन्त्रणका लागि जिल्लामा वर्षको एक पटक औषधि वितरण गरिदैं आएको छ । यो औषधि लगातार ६ वर्षसम्म सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीले बताए ।
बाँकेमा सन् २०११ बाट रोग नियन्त्रणका लागि औषधि खुवाउने अभियान सुरु गरिएको थियो । सन् २०१६ सम्म उक्त रोगको संक्रमण एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य थियो । तर, औषधि प्रयोग निकै कमले गरेपछि हात्तीपाइलेबिरुद्धको अभियान सफल हुनसकेको छैन ।
बाँकेमा २ हजार बढी हात्तीपाइलेको संक्रमणमा छन् । जिल्लाको कुल जनसंख्याको ९० प्रतिशत व्यक्ति उक्तरोगको जोखिममा छन् । स्वास्थ्य कार्यालयकी कीटजन्य रोग निरीक्षक दुर्गा गौतमले नेपालगन्ज उपमहानगरपालिकामा निकै कमले औषधि सेवन गरेका कारण अभियान सफल हुननसकेको बताइन् ।
‘यो वर्ष पनि औषधि प्रयोग गर्नेको संख्या बढ्न सकेनको छैन । तर, अभियानलाई निरन्तरता दिइरहेका छौं,’ उनले भनिन् । हात्तीपाइले रोगविरुद्वको औषधि खाएपछि देखिने सामान्य नकारात्मक प्रभावबारे बढी प्रचार हुँदा कम व्यक्तिले औषधि प्रयोग गरेका हुन् ।
सन् २०१२ मा गर्मी महिनामा संचालन गरिएको औषधि सेवन अभियानमा केही व्यक्तिको मृत्यु र डेढसय बढी विरामी परेको समाचारका कारण धेरैले औषधि प्रयोग गर्न नमानेका हुन । तर गत वर्ष चिसो महिनामा उक्त अभियान सञ्चालन गर्दा नकारात्मक प्रभाव नदेखिएपछि औषधि प्रयोग गर्नेको संख्या बढेको थियो ।
प्रतिकृया दिनुहोस्