रुपन्देही सुपर लिग : मेलवर्नद्वारा वेष्टर्न ६२ रनले पराजित
भैरहवा– रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा मंगलबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले वेष्टर्न क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै जित हात पारेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा ४७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनको योगफल बनाएको थियो । उसका लागि विजय प्रजापतीले नटआउट ७१, सेजाद आलमले २६ र सविन शाक्यले १४ रन बनाए । बलिङमा वेष्टर्नका प्रतीष जिसीले ५ र विक्रम भुसालले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वेष्टर्न २१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमै रोकियो । उसका लागि सन्देश थापाले २९ र अनिल खरेलले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा मेलवर्नका रमेश कुर्मी र रोशनलाल गुप्ताले ३–३ तथा शिवकुमार मौर्य र सन्तोष यादवले समान २–२ विकेट लिए । मेलवर्नका विजय प्रजापती म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्