March 18, 2025, Tuesday
२०८१ चैत्र ५

रूपन्देहीमा राष्ट्रिय मान्यता नपाएका ३२ दल दर्ता

भैरहवा– राष्ट्रिय दलको मान्यता नपाएका ३२ वटा दलले रुपन्देहीमा दल दर्ता गरेका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन उक्त दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई जिल्लामा दर्ता हुन आयोगले गरेको आह्वानअनुसार ३२ दल दर्ता भएको बताए ।

Advertisement

निर्वाचन कार्यालयकाअनुसार रुपन्देहीमा मंगोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशिल पार्टी, सचेत पार्टी दर्ता भएका छन् ।

भण्डारीले जनाएअनुसार समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालकालागि नेपाली पार्टी, नेपाली कांग्रेस (वीपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन पार्टी दर्ता भएका छन् ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन् । यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रुपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भएको छ । यसअघि मतदान स्थल नबढाए पनि मतदान केन्द्र भने ६१० बाट बढाएर ७०४ पुर्याएको उनले जानकारी दिए । जिल्लामा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता छन् ।