March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रुपन्देही सुपर लिग : एमसीसी १२५ रनले विजयी

भैरहवा– भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा सोमबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले बुद्ध क्रिकेट क्लबलाई १ सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै जीत निकालेको छ ।

Advertisement

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मेलवर्न निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ६ रनको योगफल बनायो । उसका लागि विजय प्रजापतीले नटआउट १०६ रनको सतकीय पारी खेले । यस्तै, सविन शाक्य र मोइन अलीले समान १५–१५ रन जोडे ।

Advertisement

बलिङमा बुद्धका अमित अग्रहरीले ४, अजय त्रिपाठीले ३ र विपिन खत्रीले २ विकेट लिए ।
प्रतिउत्तरमा बुद्ध २३.१ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमै समेटियो । उसका लागि सुरज पौडेलले १५, विपिन खत्री र सलिम अलीले समान १४–१४ रन जोडे ।

बुद्धलाई सस्तैमा रोक्न बलिङमा मेलवर्नका रोशनलाल गुप्ताले ८.१ ओभरमा ३ मेर्डन राख्दै १९ रन खर्चेर ५ विकेट लिए । यस्तै, रमेश कुर्मीले ४ र सन्तोष यादवले १ विकेट लिए । विजय प्रजापती म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।