April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

चैत २५ गते राप्रपाले शक्ति प्रदर्शन गर्ने

राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला–जिल्लामा पुग्ने क्रम चलिरहेको छ। गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ।

Advertisement

देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

Advertisement

आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्षहरु सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन्। समितिमा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेशभित्रका भ्रातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु समितिमा रहेका छन्।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौँमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने निर्णय गरेकाे छ।

परम्परागत र सम्भ्रान्त नेतृत्वले लामो समय निरन्तरता पाएको राप्रपामा लिङ्देनको उदय भएपछि राप्रपातिर जनताको आकर्षण बढिरहेको देखिन्छ। लिङ्देन जहाँ पुग्छन् त्यहाँ राप्रपाका नेता कार्यकर्तामात्रै होइन आम जनताको सहभागिता उल्लेखनीय रुपमा भइरहेको छ। पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ। उनले फागुनबाट सुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन्।

लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौँ र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन्। राप्रपा र लिङ्देनको क्रेज बढेसँगै नेपाली राजनीतिको आगामी समीकरण र शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने विश्लेषण गरिएको छ।