April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

एमालेले जितेका महानगर र उपमहानगरमा माधव नेपालको दाबी

आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नयाँ प्रस्ताव अघि सारेको छ । ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफूले टिकट पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ । 

Advertisement

चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका छन् । मुलुक संघीय संरचनामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । जसअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ । सोही कारण महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयासमा प्रमुख राजनीतिक दलहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ । 

Advertisement

चुनावी मिति नजिकिँदै गर्दा प्रायः सबैजसो राजनीतिक दलहरू उचित उम्मेदवारको खोजी गर्दै ती तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिसहित गाउँ–गाउँमा पुगेर समग्र अवस्थाको रिपोर्टिङ लिने र जीतको कसरतलाई तीव्रता दिइरहेका छन् ।

यसक्रममा काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले महानगरपालिकाको हकमा पार्टी केन्द्रबाटै उम्मेदवार छान्ने नीति सार्वजनिक गरिसकेका छन् । 

काठमाडौँ, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकाका मेयर र उपमेयर पदमा गठबन्धन र तालमेलका आधारमा उनीहरूले उम्मेदवार छान्ने भएकाले पनि आगामी ५ वर्ष स्थानीय सरकारको नेतृत्वका लागि दलहरूले कस्ता कस्ता उम्मेदवार तय गर्छन् र कुन पार्टीले कोसँग तालमेल गर्छन् भन्ने निर्क्योल गर्न भने केही समय कुर्नुको विकल्प छैन ।

आगामी वैशाख ३० को निर्वाचनमा प्रतिपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने सम्भावना बढी देखिएको छ । यद्यपि सत्तारुढ दलहरूले चुनावी तालमेलको स्पष्ट खाका भने बनाइसकेका छैनन् ।

अघिल्लो चुनावको तुलनामा यसपटक दलहरूबीचको चुनावी तालमेल फरक ढंगले हुने भएकाले पनि महानगरको निर्वाचनलाई राजनीतिक नेताकार्यकर्ताका साथै सामान्य मतदाताले समेत महत्त्वका साथ हेरिरहेका छन् । सत्ता गठबन्धनबीच हुने चुनावी तालमेलका क्रममा पनि ०७४ मा नेकपा एमालेले जितेका महानगर र उपमहानगरमा नेकपा समाजवादीले नछोड्ने सो पार्टीका एक शीर्ष नेताको दाबी छ ।