August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

भैरहवामा भयानक दुर्घटना : गाडीको टायरले घिसार्दा एकको मृत्यु

भैरहवा– सिद्धार्थनगरको बुद्धचोकमा शुक्रबार भयानक दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ११ बजेतिर बुद्धचोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीबराज वश्यालको मृत्यु भएको हो ।

Advertisement

बाटो क्रस गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बश्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताए ।

बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ । ट्रकको सिसा फुटेको छ । घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो ।

प्रत्यकक्षदर्शी प्रेम बस्नेतले दुर्घटनापछि ट्रकले घिसार्दा बश्यालको मृत्यु भएको बताए । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।