काँग्रेस महाधिवेशनपछि नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री खाँण


भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले कोही पनि नागरिक नागरिकताबिहीन हुनु नपर्ने बताएका छन् । नेपाली काँग्रेसको महाधिवेशन पछि प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयकलाई परिस्कृत गरी पास भएपछि सबैले नागरिकता पाउने उनले बताए ।
बिहीबार भैरहवामा आयोजित नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले नगरिकता प्राप्त गर्ने उमेर पुगेका हजारौं–लाखौं नागरिक नागरिकताविहीन भएको बताउँदै त्यसलाई काँग्रेस नेतृत्वको सरकारले समाधान गर्ने दावी गरे । ‘पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक सर्वोच्च अदालतले अघि बढ्न दिएन’, उनले भने, ‘सदन चलेपछि विशेयक पास हुन्छ । तर, त्यसलाई केही परिमार्जन र परिस्कृत भने गरिने छ ।’
काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका खाँणले नागरिकता नभएकै कारण राष्ट्रिय विकास र मूल धारमा समावेश हुनबाट धेरै नागरिक बञ्चित भएको जनाए । ‘नागरिकताबिहीनको समस्या राष्ट्रको समस्या हो, यो तपाईँको मात्रै होइन, हाम्रो पनि समस्या हो’, उनले भने ।
यस्तै उनले भूूमिहीनलाई जग्गा व्यवस्था गर्न राष्ट्रिय भूूमि आयोग गठन गरिएको बताए । ‘स्थानीय चुुनाव अगाडि भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिने छ’, उनले भने, ‘यसबारे सम्बन्धित पक्षलाई जानकारी दिनसमेत तपाईंहरुलाई आग्रह गर्छुु ।’

खाँणले सरकारले गरेका राम्रा कुराका बारेमा कांग्रेस कार्यकर्ताले प्रचारप्रसार नगरेको गुुनासोसमेत गरे । रुपन्देहीले सर्वसम्मत नेतृत्व चयन गरेको बताउँदै उनले प्रदेशमा पनि सर्वसम्मत गर्नुुपर्ने बताए । ‘कसको कति मत हिसाव गरेनौं । अब प्रदेशमा पनि सर्वसम्मत गरौं’, उनले भने, ‘भरत शाहलाई सभापति चयन गरौं । बाँकी पद बांडौं । आज राती नै सहमति गरौं । सर्ब सम्मतीको परम्परालाई निरन्तरता दिऔं । हामीलाई यही बिश्वास छ ।’
उमेरको आधारमा नेतृत्व नहुने उनले बताए । ‘अमेरिकामा ओवामा युवा थिए । मत जितेर राष्ट्रपति बन्नुुभयो । अहिले ७७ वर्षीय जो वाइडेन राष्टपति छन् । त्यसैले उमेर आधार हुँदैन’, उनले भने । उमेरका आधारमा भन्दा समयको आवश्यकता र परिस्थितिका आधारमा निर्णय गर्न पर्ने उनले बताए ।
‘हाम्रो कार्यकालमा धेरै राम्रो काम गर्न सकेनौं, चुुनाव जित्न सकेनौं’, उनले भने, ‘तर नेपाली कांग्रेसलाई फुट्न दिएनौं । जनतालाई तिलस्मी सपना देखाउनेहरु बहुमत ल्याएर पनि जुट्न सकेनन् । त्यसैले पार्टीमा एकता पहिलो आवश्यकता हो ।’
तीन दिनसम्म चल्ने अधिवेशन लुुम्बिनी प्रदेशको नेतृत्व चयन गर्ने छ । संस्थापन पक्षबाट प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति समेत रहेका नेता भरतकुुमार शाह र संस्थापनइतरबाट रोल्पाका नेता अमरसिंह पुुनले उम्मेवारी दिने तयारी गरेका छन् ।








प्रतिकृया दिनुहोस्