April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रकृतिलाई सिंगारेर विकासमा ध्यान दिन राष्ट्रपति भण्डारीको जोड

कपिलवस्तु- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिको विनाश गरेर विकास सम्भव नहुने बताएकी छन् । कपिलवस्तुको बाणगंगा-२, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई बिहीबार सम्बोधन गर्दै पछिल्लो क्रममा चुरे पर्वतको विनाश भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्दै विकासलाई जोड दिनुपर्ने बताइन् ।

Advertisement

‘प्रकृतिलाई सिंगारेर, विकास गरी हामीले त्यसबाट फाइदा लिन सक्नुपर्छ’, राष्ट्रपतिले भनिन् । हेलिकप्टर मार्फत आएकी राष्ट्रपति भण्डारीले १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्वार, अष्ट चिरञ्जिवी मूर्ति र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पुजा अर्चना पनि गरेकी छन् ।

Advertisement

‘शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो’, उनले भनिन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन आग्रह गर्दै राज्यले तोकेका स्वाथ्य मापदण्ड पालना गर्न अनुरोध गरिन् ।

कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो । राष्ट्रपति आउने भए पछि हिजो देखिनै सुरक्षा व्यबस्था कडा पारिएको थियो । भण्डारी आजै लुम्बिनी पुगेकी छन् ।