July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

एकीकृत समाजवादी सिद्धार्थनगरको नगर भेला

भैरहवा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगरको नगर भेला सम्पन्न भएको छ । नेकपा एमालेको गुटबन्दी र प्रतिगामी कदमका कारण अलग भएर माधब नेपालको नेतृत्वमा छुट्टै पार्टी गठन गरिएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

Advertisement

नेताहरुले देशभर पार्टी गठनको अभियान थालेको बताए । शनिबार भैरहवामा भएको भेलामा केन्द्रिय सदस्य उमा काफ्लेले संगठनमा सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै ओली दम्भका कारण समाजवादी पार्टी गठन भएको बताइन् । ‘हामी जनताको मनोभावनालाई बुझेर अगाडि बढ्छौं’, उनले भनिन्, ‘कुनै व्यक्तिले आफ्नो स्वार्थका लागि कुनै कार्य गर्न खोज्छ भने सदैव विरोध गर्ने र प्रतिगामीलाई प्रास्त गर्न लागि रहेने छौं ।’

Advertisement

लुम्बिनी प्रदेश कमिटी सदस्य ऋषिराम शर्माले समाजवादी पार्टीले नेपाली जनताको भलो हुने काम गरेर अगाडि बढ्ने बताउँदै व्यक्तिवादतर्फ नलागेर सामूहिक निर्णय लिएर अगाडि बढ्ने बताए । देशमा प्रतिगामी प्रतिशोध राखेर ओलीले काम गरेका कारण दुई तिहाइको सरकार ढलेको बताउँदै उनले भने, ‘अहिले एमालेको भइरहेको निर्वाचनपछि धेरै जनताले समाजवादी पार्टी रोज्ने छन् ।’

सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन संगठन विस्तार गर्दै जाने बताए । पार्टीलाई सबल र सक्षम बनाउन सबै संगठनले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले आग्रह समेत गरे ।

नगर अध्यक्ष रामबहादुर बस्नेतले पार्टीको देशव्यापी रुपमा संगठन विस्तार गर्दै अगाडि बढ्ने निर्देशन रहेकाले सिद्धार्थनगरमा योग्यता र क्षमता अनुसारको नेतृत्व दिँदै अगाडि बढ्ने बताए । नगर भेलाले मंसिर मसान्त भित्र सबै वडामा कमिटी बिस्तार गर्ने गरी काम अगाडि बढाउने र १३ वटै वडामा संयोजक चयन गरेको बस्नेतले बताए ।