March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सिटी हस्पिटलमा प्रसूती सेवा र क्यान्सरसम्बन्धी उपचारमा सुविधैसुविधा

भैरहवा– भैरहवाको लुम्बिनी रोडमा रहेको सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले प्रसुती सेवा र क्यान्सर रोगको उपचारका लागि विशेष छुट सुविधा सार्वजनिक गरेको छ । यसमा नर्मल डेलिभरी तथा शल्यक्रिया सुविधासमावेश गरिएको छ ।

Advertisement

आइतबार भैरहवामा पत्रकार सम्मेलन गर्दै अस्पतालले यही मंसिर ९ गतेदेखि १७ गतेसम्मका लागि होलबोडी चेकअपमासमेत विशेष छुटको व्यवस्था गरिएको जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले सुविधा प्रसूतीसेवामा सिनियर महिला रोग विशेषज्ञ तथा तालिम प्राप्त अनुभवी स्वास्थ्यकर्मीद्वारा नर्मल डेलिभरी, अनुभवी शिशु तथा बालरोग विशेषज्ञ डाक्टरद्वारा शिशुको स्वास्थ्य परीक्षण तथा एनआइसीयू सेवा प्रदान गरिने जानकारी दिए ।

Advertisement

‘नर्मल तथा शल्यक्रियाका लागि चाहिने औषधिको व्यवस्था र स्वच्छ सफा स्वीट क्याबिनको व्यवस्था पनि गरिने छ’, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.ज्योति रानाले भनिन्, ‘विशेष सुविधाअन्तर्गत नवजात शिशुका लागि एक सेट लुगाको व्यवस्था, नवजात शिशुको स्वागतका लागि केक काटिने छ भने आमा तथा बच्चालाई एम्बुलेन्समार्फत घरसम्म पुर्याउने व्यवस्था मिलाएका छौं ।’

शल्यक्रिया गर्नुपरेमा अत्याधुनिक मोडुलर ओटीमा सिनियर महिला रोग विशेषज्ञ तथा तालिम प्राप्त अनुभवी स्वास्थ्यकर्मीद्वारा शल्यक्रिया गराइने पौडेलले बताए । यसका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

होलबोडी चेकअपअन्तर्गत महिला रोग तथा क्यान्सर उपचार सेवा उपलब्ध गराइने छ । यसअन्तर्गत रगत, पिसाब, थाइराइड जाँच, पाठेघर तथा स्तनको भिडियो एक्स–रे, पाठेघरको पानीको जाँचलगायत महिला रोगसम्बन्धी डाक्टरसँग जाँच तथा परामर्श सेवा उपलब्ध हुने डा.रानाले जानकारी दिइन् ।

यस्तै, महिला तथा पुरुषका लागि गोल्डेन हेल्थ कार्यक्रमअन्तर्गत विशेष छुटसहितका सुविधा सार्वजनिक गरिएको छ । यसमा थाइराइड, कोलेस्ट्रोल, किड्नी फङ्सन टेस्ट, पिसाब जाँच, छातीको एक्स–रे, भिडियो एक्स–रे, इसिजी लगायतका जाँचहरु गरी डाक्टरसँग जाँच तथा परामर्श सेवा उपलब्ध गराइने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

अस्पतालले यस क्षेत्रका बासिन्दालाई लक्षित गर्दै छिटोछरितोे सेवासुविधा लिनका लागि काठमाडौं तथा भारत जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अत्याधुनिक सेवासुविधा सार्वजनिक गरेको पौडेलले बताए । २०६८ मा १५ शय्या स्वीकृति लिई सेवा सुरु गरेको अस्पतालले हाल १ सय शय्यामा स्तरवृद्धि गरी सेवा दिँदै आएको छ । सार्वजनिक गरिएका विशेष सुविधाअन्तर्गत ५० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ ।