April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

चौबीस हजारको मोतियाविन्दुको शल्यक्रिया

बुटवल– रुपन्देहीको बुटवल लायन्स आँखा अस्पताल उपचारमा प्रभावकारी बन्दै गएको छ । अस्पताल स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा अस्पतालले आँखा उपचारमा प्रभावकारी काम गरेको छ । अहिले रजत महोत्सव मनाउने तयारी गरीको छ ।

Advertisement

रजत जयन्तीको अवसरमा बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठले सेवासुविधा विस्तार आँखा उपचारमा अब्बल बन्ने गरी अघि बढीरहेको बताए । ‘हामीले २५ वर्षे दौरानमा आँखा उपचारमा अब्बल बन्ने प्रयास गर्यौ’, उनले भने, ‘हिजो भन्दा आज हामी सफल हुँदै गएका छौं, धेरै विरामीको सेव ागर्न पाएका छौं ।’

Advertisement

अस्पतालकाअनुसार स्थापनायता २४ हजार तीन सय बढी विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । ‘धेरै नागरिकको सफल शल्यक्रिया गर्न पाउँदा हामी खुशी छौं’, उनले भने । अस्पतालले जनाएअनुसार पछिल्लो समय नेत्र रोगीको एसआईसीएस तथा फेको प्रविधिबाट शल्यक्रिया हुँदै आएको छ ।

यस्तै, अहिलेसम्म करिब ३ सय ३० विद्यालयहरुका १ लाख ५१ हजार विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालले जनाएको छ । ‘दृष्टिदोष भएका २ हजार ७ सय जना विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण पनि गरेका छौं’, अध्यक्ष श्रेष्ठले भने ।

यस्तै, ४ सय स्थानमा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । शिविरमा ८९ हजार विरामीहरुमा आँखा जाँच गरि मोतियाबिन्दु देखापरेका १३ हजार ६ सय जनालाई अस्पतालबाट निःशुल्क शल्यक्रिया गरिएको छ ।

रजत महोत्सवको अवसरमा अस्पतालले शुक्रबार सचेतनामूलक प्रभातफेरि, शनिबार निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया, आइतबार रक्तदान तथा सोमबार मूल समारोहमा सम्मान तथा शुभकामना आदानप्रसाद कार्यक्रम गर्ने जनाइएको छ ।